राष्ट्र बैङ्कले बजारबाट एकैपटक २० अर्ब रुपैयाँ तान्दै

२२ साउन, काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले बजारबाट एकैपटक २० अर्ब रुपैयाँ तान्ने भएको छ । उच्च तरलताका कारण अन्तरबैङ्क ब्याजदर ब्याजदर–करिडोरको तल्लो सीमाभन्दा तल झरेपछि राष्ट्र बैङ्कले अल्पकालिन उपकरणमार्फत् तरलता व्यवस्थापन गर्न लागेको हो ।

राष्ट्र बैङ्कले यसको लागि बिहीबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्न लागेको हो । यसमा सबै वर्गका बैङ्क तथा वित्तीय संस्थाले सहभागिता जनाउन पाउने राष्ट्र बैङ्कले जनाएको छ । अहिले बैंकिङ सिस्टममा २ खर्ब भन्दा बढीको तरलता रहेको राष्ट्र बैङ्कले जनाएको छ । निक्षेप बढ्दै गएको तर त्यसअनुसार ऋणको माग नभएका कारण यतिबेला उच्च तरलताको अवस्था सिर्जना भएको हो । उच्च तरलताकै कारण अहिले ०.२५ प्रतिशतमा झरेको छ । राष्ट्र बैङ्कले यो सीमालाई १ प्रतिशत भन्दा तल झर्न नदिने लक्ष्य लिएको थियो ।

२० अर्बको तरलता खिच्दा पनि बजारमा अझै १ खर्ब ८० अर्बको तरलता बाँकी नै रहन्छ । बजारमा तरलतासँगै लगानीयोग्य पुँजी समेत अत्यधिक भएपछि अहिले बैङ्कहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने कर्जाको विस्तारका लागि नयाँ नयाँ प्रोडक्टहरु समेत सार्वजनिक गर्न थालेका छन् ।

यसअघि साउन ८ र १५ गते पनि राष्ट्र बैङ्कले २०र२० अर्बकै रिभर्स रिपो जारी गरेको थियो । एक साता अवधिको उक्त रिपोका अवधि सकिएसँगै फेरि बजारमा जान लागेको तरलतालाई राष्ट्र बैङ्कमै राख्न अर्को अक्सन जारी गरिएको हो । यो साउन २९ गते परिपक्व हुनेछ ।