अमेरिकामा नयाँ खालको कोरोना भाइरस 

सिएनएन

२२ असार, काठमाण्डौ । विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ ।

युरोपबाट अमेरिका प्रवेश गरेको यो नयाँ कोरोना भाइरस पहिलेको तुलनामा बढी संक्रामक भए पनि कम हानिकारक रहेको अनुसन्धाताहरूको टोलीले उल्लेख गरेको छ । भन्नुको मतलब, यसले पहिलेभन्दा धेरैलाई संक्रमण गर्न सक्छ, तर संक्रमित व्यक्ति बिरामी पर्ने सम्भावना कम हुन्छ ।

वैज्ञानिक जर्नल ‘सेल’ मा प्रकाशित अध्ययनअनुसार पछिल्लो समय यही परिवर्तित स्वरूपको कोरोना भाइरस बढी फेला परेको छ । यसले एउटा प्रश्न जन्माएको छ– कोरोनाविरुद्ध अनुसन्धान क्रममा रहेको खोप परिवर्तित स्वरूपको भाइरसमा प्रभावकारी हुन्छ कि हुँदैन ?

कोरोनाविरुद्ध खोप बनाइरहेका अधिकांश अनुसन्धान संस्थाहरूले पुरानो स्वरूपको भाइरसको नमूनालाई आधार मानेका थिए । खोप बनिसकेपछि नयाँ खालको भाइरस रोक्न प्रभावकारी साबित हुन्छ कि हुँदैन भन्नेमा अनुसन्धाताहरूले शंका व्यक्त गरेका छन् ।

वैज्ञानिकहरूले नयाँ खालको भाइरसलाई ‘जी६१४’ नाम दिएका छन्। यसले युरोप र अमेरिकामा फैलिएको पुरानो स्वरुप (डी६१४) लाई लगभग प्रतिस्थापन गरिसकेको वैज्ञानिकहरूको भनाइ छ ।

‘संसारभरिको कोरोना संक्रमण तथ्यांक केलाउँदा हामीले पुरानोभन्दा नयाँ स्वरूपको भाइरस तीव्र गतिले फैलिएको पायौं,’ अनुसन्धानमा संलग्न जैविक वैज्ञानिक बेट्टे कोर्बरले जर्नलमा लेखेका छन्, ‘नयाँ भाइरस पहिलेको दाँजोमा बढी संक्रामक रहेको हाम्रो निष्कर्ष छ ।’

‘तर, यसले संक्रमित व्यक्तिलाई पहिलेजस्तो थला पर्ने गरी बिरामी पारेको भेटिएको छैन,’ उनले भने ।

यस आधारमा वैज्ञानिकहरू के अनुमानमा पुगेका छन् भने, कोभिड–१९ जति फैलिँदै जान्छ, यो कम भयानक हुँदै जानेछ। संक्रमित व्यक्तिको संख्या बढ्दै गए पनि गम्भीर रूपले बिरामी हुने वा मृत्युको मुखसम्म पुग्ने सम्भावना कम
हुन्छ ।

उनीहरूका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस मान्छेको माथिल्लो श्वासप्रश्वास प्रणालीमा तीव्र गतिले वृद्धि हुने गरेको पाइएको छ । यसमा नाक, घाँटी लगायत भाग पर्छन् । त्यही भएर यो भाइरसले धेरै जनालाई संक्रमित पार्न सक्छ ।

अनुसन्धान टोलीले युरोप र अमेरिकाभरिका विभिन्न कोरोना बिरामीको नमूना संकलन गरी यो निष्कर्ष निकालेको हो । अनुसन्धाताहरूले पहिले र अहिलेको भाइरस संक्रमणको प्रवृत्ति विश्लेषण गरेका थिए ।

उक्त अनुसन्धानअनुसार, जति बेला बेलायत र अमेरिकामा पहिलो चरणको महामारी फैलिएको थियो, त्यति बेला त्यहाँका सबै ठाउँमा ‘डी६१४’ भनिने पुरानो स्वरूपको भाइरस देखिएको थियो । कतै पनि ‘जी६१४ भनिने’ नयाँ खालको भाइरसको उपस्थिति थिएन । विस्तारै युरोपेली सहरहरूमा कोरोना भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइयो ।

सन् २०२० मार्च १ अघिसम्म युरोपभित्र मात्र नयाँ खालको कोरोना भाइरस देखियो । युरोपबाहेक अन्य मुलुकमा यसको उपस्थिति अत्यन्तै कम थियो । मार्च अन्त्यपछि भने संसारभरि यो खालको भाइरसको उपस्थिति ह्वात्तै बढ्यो ।

बेलायतको अस्पतालमा भर्ना भएका हजार जना कोरोना बिरामीको नमूना परीक्षण गर्दा उनीहरूमा संक्रमणको असर सामान्य देखिएको छ । पहिलेको दाँजोमा यो भाइरसले बिरामीलाई त्यति गम्भीर असर पारेको छैन ।

यसमा केही अपवाद भने छन् । क्यालिफोर्निया, आइसल्यान्ड लगायत केही ठाउँमा अहिले पनि पुरानो स्वरूपको कोरोना भाइरसलाई नयाँ स्वरूपले प्रतिस्थापन गरेको छैन ।

सेतोपाटीबाट