२२ असार, काठमाण्डौ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन् ।
सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका हो । सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी) मूल्य राखेका थिए ।
गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो ।
सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेट लगायतका खेलाडी छन् ।
ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा थिए ।
सन्दीपले लगातार तेस्रो सिजन सिपिएल खेल्ने भएका हुन् ।
२०१८ को सिजन सेन्ट किट्सबाट खेलेका सन्दीपले गत सिजन बार्बाडोसबाट खेलेका थिए ।
कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ । लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा गर्ने आयोजकले निर्णय गरेको थियो ।