सखाप नपार नेपाल

कविता

तार पठाएको पनि होइन
रैबार गरेको पनि होइन
तरपनि खुरुखुरु आए सलह ।

आएपछि सिधै कुटीयाङ्दी पुगेर
फर्किनु पर्थ्यो सलह
तर गएनन् ।

सुस्तामा लन्च र
तिब्बतमा डिनर गर्नुपर्थ्यो सलहले
त्या पनि गएनन् ।

कोशिको किनारै किनार पैदल हिडेर
देहातको बाली बुकाउनुको सट्टा
मेलम्चीको नाली खाएको भए
इन्द्रावती झर्थ्यो कि कतै कान्तिपुरीमा
धानको गावा ठुन्क्याउदै हिडे भातमाराहरु ।

अलिकति माथि उक्लेर
गोरखाको “रुइ” गाउँ
उताको हो कि यताको हो
साध सीमाना चिनाइ दिएको भए
चेपे नदीमा दुध बगाउनु पर्दैनथ्यो त्यसरी
द्रब्य शाहकि आमाले ।

पुरै फुर्सदिला मान्छेहरु
दिनहुुँ पत्रीकाका पेज पल्टाएर
विस्मित हुँदै भन्छन् –
आज बर्दियामा आए सलह
आज दाङमा आए सलह
आज सुर्खेतमा आए सलह
आज राजधानी पनि छिरे सलह
दुइ नम्बर प्रदेश त
सखापै पारे सलहले ।

सबैभन्दा बढी सलहले खाने
मकै बाली पो रहेछ ।
इतिहास नै नपढ्नेको
यो ब्यर्थ बकबास सुन्दा
मलाई भाउन्न भएर आउँछ ।

उहिल्यै –
बाजे कृष्णलालको मकैबारीमा
यसरी नै पसेको सलहले
कृष्णलाललाई समेत निलेको होईन ?

उखरमाउलो ब्यस्तछन सलह
यतिखेर
ह्वारह्वार्ती उड्छन
मिनेट मिनेटमा अन्नबाली ठुङ्छन
बालुवाटार
खुमलटार
सिंहदरबार
शितल निवास
यो बाह्रमासे बालीमा
झुन्ड झुन्ड देखिन्छन् सलह ।

खुट्टा र टाउको
प्वाँख र पुच्छर
बोली र शरीरको हाउभाउले
चिन्न सकिन्छ सजिलै

चार किसिमका सलह ।
केन्दमुखी
प्रदेशमुखी
गाउँमुखी
बिदेशमुखी
सलह ।

बालीनाली मात्र खादैनन
सुन खान्छन्
फलाम खान्छन्
मेसिन खान्छन्
कीट खान्छन्
ढल खान्छन्
मल खान्छन्
कात्रो त झन रमाइ रमाइ खान्छन्
सलह ।

डर लाग्दैन सलहलाई
इज्जतको
नैतिकताको
र मान्छेको पनि ।

रुप र रंग पनि बदलिन्छ
सलहको बेला बखत
र बन्छ फटयांग्रो किरा
फटयांग्रो – मरेपनि कम्मरमा हात राख्न छोड्दैन
सलह – सिद्विएपनि बाली सखाप पार्न छोड्दैन
ठ्याक्कै हाम्रा नेताको गुण ।

सलह –
सप्पै खाउ सखाप पार पृथ्वी
तर, नेपाल नखाउ सखाप नपार
नेपाल ।