कोरोना कहरसँगै १६ हजार नेपाली बिदेशबाट फर्के

२० असार, काठमाडौं । कोरोना कहरबाट अप्ठ्यारोमा परेका नेपाली हिजो बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा रहेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।

सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागु गरिएको लकडाउनका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ २१ गतेदेखि सुरक्षित रूपमा स्वदेश फर्काउने कार्य सुरु गरेको हो ।

यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट ३१३, कतारबाट एक हजार ८१२, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, बङ्गलादेशबाट ८४१, मलेसियाबाट एक हजार ५३७, माल्दिभ्सबाट ७०९, यूएईबाट दुई हजार ७३७, सउदी अरेबियाबाट दुई हजार दुई, सिङ्गापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ४२०, संयुक्त राज्य अमेरिकाबाट २८२ र संयुक्त अधिराज्यबाट २२९ नेपाली स्वदेश फिर्ता भएका छन् ।

उनीहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ ।