Breaking News

अध्यक्ष ‘प्रचण्ड’ ले उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर तेह्रथुम हिडे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ आज पूर्वी पहाडी जिल्ला तेह्रथुम तिर उडेका छन। प्रचण्डको सचिवालयका अनुसार उनी आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी छन् ।

अध्यक्ष प्रचण्डसँगै सैनिक हेलिकोप्टरमार्फत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि छन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट उनी आठराई जाने कार्यक्रम रहेको छ ।

प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् ।

यस्तै, आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् भने प्रचण्ड भोलि मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन् ।

भोेलि दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर प्रचण्ड काठमाडौं फर्कने कार्यक्रम रहेको छ।