Breaking News

काँग्रेस मिल्नुको सट्टा समानान्तर गतिविधिमा देउवा समूहले २२ गते सम्पर्क कार्यालय खोल्दै

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी असार २२ गते सम्पर्क कार्यालय उद्घाटन गर्ने भएको छ ।

सभापति गगनकुमार थापासँग सार्थक संवाद हुन नसकेपछि समानान्तर गतिविधिमा सक्रिय रहेको असन्तुष्ट समूहले सानेपास्थित पार्टी मुख्यालयको झल्को दिनेगरी नयाँ कार्यालय खोल्न लागेको हो । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा आज बसेको समूहको बैठकले चुनदेवीमा कार्यालय स्थापना गर्ने औपचारिक निर्णयसमेत गरेको छ ।

सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । अहिले उक्त घरको रङरोगन र फर्निसिङको काम चलिरहेको बताइएको छ ।

आजको बैठकमा खड्कासहित कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, शशांक कोइराला, रमेश लेखक, प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मालगायतका नेताहरुको उपस्थिति थियो ।

कांग्रेस संस्थापनपक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी डिजिटल सदस्यता अद्यावधिक गराइरहेको छ । तर, असन्तुष्ट पक्षका नेताहरूले पनि सदस्यता नवीकरण गरेका छैनन् ।