Breaking News

प्रदेश संरचना खारेज भन्दा पनि अझै प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफल गर्नुपर्छ – सभापति रवि लामिछाने

सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताएका हुन्।

उनले रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दाबी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको बताए।

उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको कारण रास्वपाले बहसको प्रस्ताव मात्र गरेको दोहोर्‍याए।

उनले भने, ‘हामी सबैलाई के थाहा छ भने संविधानका सयौं विषयमा बहसको आवश्यकता छ। यी विषयमा अन्य दलहरूले हामीभन्दा चर्को स्वरमा बोलेका पनि छन्। प्रदेश खारेजी भनेर हामीले कहीँ लेखे जस्तो त लाग्दैन। हामीले प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ, यो कुराको आवश्यकता सबैले महसुस गरेका छन्। रास्वपाले मात्र गरेको होइन। कयौँ पुराना राजनीतिक दलका नेताहरूले त यो खारेज नै गर्नुपर्छ पनि भनेका छन्। हामीले के भनेका हौँ भने प्रदेश संरचनालाई प्रभावकारी बनाउनको लागि यसमा सोच्नुपर्छ भनेर भनेका हौँ। यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको न हो।’

उनले सरकार र रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। –न्युज एजेन्सी नेपाल