आज देशैभर छिटफुट घटनाबाहेक प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदानको सुरुवाती क्रममा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया–३ को एक मतदान केन्द्रमा सामान्य विवाद हुँदा केही समय मतदान स्थगित भएको थियो । पछि प्रशासनको पहलमा त्यहाँ पुनः मतदान सुरु गरिएको थियो ।
सोही निर्वाचन क्षेत्रको बलरामास्थित एक मतदान केन्द्रमा पनि ‘रुख’ र ‘घण्टी’ चुनाव चिह्नका पोलिङ एजेन्टबीच विवाद भएपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । पछि त्यहाँ पनि मतदान पुनः सञ्चालन गरिएको थियो ।
यसैगरी महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बर्दिबासस्थित प्रेमनगरमा दुई पक्षबीच विवाद हुँदा केही समय मतदान स्थगित भएको थियो। प्रशासनको हस्तक्षेपपछि त्यहाँ पनि मतदान सुचारु गरिएको थियो । यी छिटफुट घटनाबाहेक मधेश प्रदेशका आठवटै जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न भएको जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्राप्त प्रारम्भिक जानकारी अनुसार सप्तरीमा करिब ५६ प्रतिशत, सिरहामा ६२ प्रतिशत, धनुषामा ६० प्रतिशत, महोत्तरीमा ५२ प्रतिशत, सर्लाहीमा ६० प्रतिशत, पर्सामा ६५ प्रतिशत, बारामा ५५ प्रतिशत र रौतहटमा ५६ प्रतिशत मतदान भएको बताइएको छ । हालसम्म भने निर्वाचन आयोगले मधेश प्रदेशका जिल्लागत मतदान प्रतिशतको आधिकारिक तथ्यांक सार्वजनिक गरिसकेको छैन ।

