Breaking News

सम्बन्ध बिच्छेद भएपनि बिदेशी महिलाले ७ वर्षपछि अंगीकृत नागरिकता पाउने

९ असार, काठमाण्डौ । नेपाली पुरूषसँग बिहे गरी आएका विदेशी महिलाहरूले स्थायी बसोबासको निम्ति अनुमतिपत्र पाउने र सम्बन्ध विच्छेद भए पनि सात वर्षपछि अंगीकृत नागरिकता पाउने व्यवस्था प्रस्तावित कानुनमा गरिएको छ ।

दुई दिनअघि राज्य व्यवस्था समितिले पास गरी मंगलबार संसदमा पेस भएको नागरिकता विधेयकले उक्त व्यवस्था गरेको हो ।

’नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने अवधि भन्दा अघि निजको सम्बन्ध विच्छेद भएमा वा पतिको मृत्यु भएमा उपदफा १ बमोजिम अंगीकृत नागरिकता प्रदान गर्न सकिनेछ,’ विधेयकमा भनिएको छ ।

नेपाली पुरूषसँग बिहे भएकी विदेशी महिलाले सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र नागरिकता पाउने निर्णय समितिले बहुमतका आधारमा गरेको हो । वैवाहिक सम्बन्ध भएका विदेशी महिलाले सात वर्षसम्म स्थायी आवासीय अनुमतिपत्र पाउने छन्, जसमार्फत् सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार उपलब्ध हुनेछ ।

उनीहरूलाई सात वर्षसम्म निर्वाचनमा मतदान गर्न तथा उम्मेदवार हुने अधिकार हुने छैन । आवासीय अनुमतिपत्रका आधारमा सम्पत्ति किनबेच गर्न तथा भोगचलन गर्न, बैंक खाता खोल्न, पेसा, व्यवसाय र उद्योग सञ्लालन गर्न, जन्म, मृत्यु तथा विवाहजस्ता व्यक्तिगत घटना दर्ता गर्न, शैक्षिक संस्थामा भर्ना भएर अध्ययन गर्न पाउने छन् ।

ति कार्य गर्नका लागि आवासीय अनुमतिपत्रका आधारमा राष्ट्रिय परिचयपत्र पाउनेछन् ।