बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार ढाकामा विशेष समारोहकाबीच बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमानले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन्।
बंगलादेशमा राष्ट्रपति भवनमा शपथ ग्रहण हुँदै आएको थियो। यसपालि संसद भवनको परिसरमा खुला आकाशमुनी मञ्च बनाएर प्रधानमन्त्री रहमानले सपथ लिएका हुन्।
उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहणपछि प्रधानमन्त्री रहमानले जुनसुकै मूल्यमा मुलुकमा शान्ति र कानुनी व्यवस्था कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले समर्थकहरूलाई बदलाभाव नराख्न चेतावनी समेत दिए। सरकारले कुनै पनि प्रकारको अराजकता नसहने बताए।
फेब्रुअरी १२ मा भएको निर्वाचनमा बिएनपीले दुई तिहाई सिट जितेको थियो। यसपालिको निर्वाचनमा शेख हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाइएको थियो।
शपथ ग्रहण समारोहमा विभिन्न मुलुकबाट सरकारका प्रतिनिधिहरूलाई पनि निमन्त्रणा दिएको थियो। नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए।
बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार प्रधानमन्त्रीले शपथ लिएपछि अन्य २५ मन्त्री र २४ जना राज्यमन्त्रीहरूले पनि शपथ लिएका छन्।
तारिक बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।
सन् १९८१ मा राष्ट्रपति रहँदै जियाउर रहमानको हत्या भएपछि बिएनपीको नेतृत्व खालिदा जियाले गरेकी थिइन्। तारिक पार्टीका कार्यवाहक अध्यक्ष थिए। उनी लण्डनबाटै पार्टी सञ्चालन गर्थे।

