Breaking News

सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडपले रणमैदान बन्यो

९ माघ, भक्तपुर । हिजो राती सानोठिमीस्थित बाल सुधार गृह रणमैदान बन्यो । बाल सुधार गृहमा दुई पक्षबीच झडपले भएको छ ।

बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड भएको थियो । बालसुधार गृहमा इँटा ढुंगाका टुक्रा यत्रतत्र छरिएका छन् ।

स्थिति फेरि भड्किनसक्ने अनुमानमा प्रहरीहरुको तैनाथी बढाइएको छ ।

हिजो राती नै झडपको जानकारी पाएपछि नै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेको थियो । सो टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सकेन ।

झडपमा संलग्न बालसुधार गृहका दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बन्यो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो ।

आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

अहिले स्थिति नियन्त्रणमा आए पनि त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।