-रुषा थापा
काठमाडौं उपत्यकासहित देशभर एक सय ३४ वटा मालपोत कार्यालय छन् । यातायात कार्यालय पनि उत्तिकै छन् । पाँच वर्षअघि यी दुवै कार्यालयमा मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । घरजग्गा किनबेच, नामसारी गर्नेको मालपोतमा खुट्टा टेक्ने ठाउँ हुदैँन्थ्यो भने यातायातमा सवारीसाधन किनबेच, नामसारी, दर्ता गर्नेहरुको लर्को हुन्थ्यो । मालपोत र यातायातमा सेवाग्राहीको अत्यधिक चापले राज्यको ढुकुटीमा मात्र राजस्व नआई त्यस्ता कार्यालय आसपासका चिया पसल, स्टेशनरी, फोटो स्टुडियोलगायतको पनि व्यापार फस्टाएको थियो । दिनमै दुई सय कपसम्म एउटै पसलमा चिया बेचबिखन हुन्थ्यो भने फोटो स्टुडियो र स्टेशनरीहरुले पनि दिनमै ५० हजारदेखि लाखौंसम्म कमाउन्थे ।
सँगै मालपोत र यातायातका लेखनदास, कानून व्यवसायीको पनि राम्रो आम्दानी हुन्थ्यो । उनीहरुले पनि दिनमै लाखौंसम्म कमाउन्थे । पाँच वर्षअघि मालपोत र यातायात कार्यालय छेउछाउ घर भाडामै पाइन्थ्यो । त्यस्ता ठाउँमा एउटा सानो अध्याँरो कोठाकै दश हजारदेखि ३० हजारसम्म असुलिन्थ्यो । सटरको ५० हजारदेखि लाखौं, फ्ल्याटको ४० हजारदेखि तीन लाखसम्म भाडा लिइन्थ्यो ।
खाली सटर त ३० लाखदेखि ६० लाखमा किनबेच हुन्थ्यो । यस्ता ठाउँ आसपास जग्गाको मूल्य पनि एकदम महँगो हुन्थ्यो । एक आना जग्गाकै पाँच करोडसम्म मूल्य हुन्थ्यो । तर, पाँच वर्षको अवधिमा सबै फेरिएको छ । अहिले मालपोत र यातायात कार्यालय सुनसान छन् । जसका कारण राज्यको ढुकुटीमा आउने राजस्व त घटेको छ नै सँगै त्यस्ता कार्यालय आसपासका व्यवसायी, लेखनदास, कानून व्यवसायी, घरधनीहरुको पनि आम्दानी घट्दो छ । लेखनदास, कानून व्यवसायीको त आम्दानी नै छैनभन्दा पनि केही फरक नफर्ला । किनकि अहिले घरजग्गा, गाडी किनबेच, नामसारी, दर्ता गर्न कोही पनि जाँदैनन् । चिया पसलेलाई दिनमा पाँच कप चिया बेच्न पनि मुस्किल परिरहेको छ भने घरहरु पनि धमाधम खाली भइरहेका छन् । यसले घरधनीहरुसमेत मर्कामा परेका छन् । केही वर्षयता घरजग्गा, गाडी र सेयरमा मन्दी छ । यी वस्तु बेच्न चाहने सयौं भेटिन्छन्, किन्ने चाँहि शून्य ।
सुनमा पनि त्यस्तै छ । सुन सेयर बनिसकेको छ । कहिले ह्वात्तै मूल्य बढ्ने, कहिले स्वाट्टै घट्ने । यसले अहिले सुनको मूल्य बढिरहँदा पनि किन्ने कोही छैनन् । बिहेको सिजनमा समेत सुनको किनबेच ठप्प छ । सुन व्यापारीहरु भन्छन्–बेच्न भन्दै दिनमै दर्जनौं आउँछन् तर किन्न चाँहि कोही आउँदैनन् । बैंकमा पैसा थुप्रिएको भन्दै नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे तरलता तान्छ । त्यसरी लगेको पैसाको राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिनुपर्छ ।
बैंकहरुले चाँहि साढे दुईदेखि चार प्रतिशत ब्याजमा बचतकर्तासँग पैसा लिइरहेका छन् । घरजग्गा, गाडी, सेयर, सुन कारोबार ठप्प छ । राजस्व पनि घट्दो छ । अनि राष्ट्र बैंकले कहिलेसम्म दुई प्रतिशत ब्याजमा बैंकहरुको पैसा तान्न सक्छ ? बैंकहरुले पनि घाटा खाएर कहिलेसम्म राष्ट्र बैंकमा पैसा राख्न सक्छन् ? बैंकले कमाउने भनेकै डिपोजिटबाट हो ।
बचतकर्ताको डिपोजिट चर्को ब्याजदरमा अर्कोलाई दिइन्छ । उदाहरणका निम्ति तीन करोडको धितो राखेर एक करोड ऋण दिइन्छ । त्यसबापत बैंकका सञ्चालक, अध्यक्षहरु दशदेखि २० लाख रुपैयाँसम्म घुस खाने । एक प्रतिशत सेवाशुल्कको ठाउँमा तीन प्रतिशत, १६ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुल्ने अनि तीन किस्ता नतिर्नेबित्तिकै तीन करोडको धितो ८०–९० लाखमै पचाइदिने ।
बैंकहरुले ऋणीलाई सडकछाप बनाएर कमाउँदै आएका थिए । उनीहरुले ऋणीलाई घाट न घाटको अवस्थामा पुर्याए । करोडौंको धितो लाखौंमा गुमाउँदा र उल्टै कालोसूचीमा परेपछि सहन नसकेर कतिपय ऋणीले आत्महत्या गरे त कतिपयले आफ्नो वंश पनि सिध्याए । अब भने बैंकको पालो आएको छैन । भनिन्छ कि अरुलाई सिध्याएर आफू बाँच्न सकिँदैन ।
बैंकहरुले ऋणीलाई सिध्याए, त्यो पनि एक–दुई जनालाई होइन लाखौंलाई । अब भने बैंक आफैं सिद्धिने बेला आएको छ । सहकारीले ऋणीलाई सडकछाप बनाएपछि सहकारी आफैं डुब्नुपर्यो, भाग्नुपर्यो । अब पालो बैंकको आउँदैछ । किनकि बैंकको असलियत देखेपछि अहिले जनता बैंकमा ऋण माग्न जानै छोडेका छन् । बरु उनीहरु व्यक्तिसँग मीटरब्याजमा पैसा लिन्छन्, तर बैंकमा ऋण माग्न जाँदैनन् ।
बैंकले जनताको विश्वास गुमाइसकेको छ । कुनै पनि क्षेत्र तबसम्म चल्न सक्छ, जबसम्म त्यहाँ विश्वास रहन्छ । आफ्नै घरपरिवारबीच विश्वास रहेन भने त अलग हुने गरिन्छ भने बैंक त को नै हो र ? बैंकले आफ्नै हर्कतले जनताको विश्वास गुमायो अनि जनताले बैंकसँग ऋण माग्नै छोडे । जनताले ऋण नलिनेबित्तिकै बैंकको आम्दानी खुम्चिँदै गयो र अहिले संकटमा परिसकेको छ ।
बैंकले जनताको पैसा जनतालाई नै ऋणमा दिएर कमाउँदै आएको थियो । एउटा नागरिकलाई सस्तो ब्याज दिएर पैसा लिने, अर्को नागरिकलाई चाँहि त्यही पैसा चर्को ब्याजमा लगाउने । बैंकको आफ्नो लगानी चाँहि केही छैन, बीचमा बसेर पैसाको कारोबार गरी कमाउने । सोझासाझा जनताले बैंकलाई विश्वास गरेर आफूले जीवनभर कमाएको पैसा राखे, ऋण दिए । तर, बैंकका कर्मचारी, सञ्चालक, अध्यक्षहरुले जनताको पैसामा आँखा गाडे ।
सर्वसाधारणले बैंकमा राखेको पैसा हिनामिना वा चोरीसमेत गरे त ऋणीलाई चाँहि लुट्नु लुटे । अहिले त्यसैको परिमाणस्वरुप बैंकमा ऋण माग्न जाने त ठप्प भइसके, अब छिट्टै पैसा जम्मा गर्न पनि सर्वसाधारणले छोड्ने छन् । यता, दलाल, भूमाफियाहरुले घरजग्गा, गाडी र सेयरको मूल्य कृत्रिम रुपमा बढाए ।
रोपनीको दश हजारमा नबिक्ने जमिनलाई उनीहरुले डोजर चलाई टुक्राटुक्रा पारेर आनाकै लाखौंदेखि करोडौं पुर्याए । एक रोपनीमा १६ आना हुन्छ । २०४७ सालमा भक्तपुरको राधेराधेमा रोपनीको ३० हजारमा जग्गा बिक्री हुदैँन्थ्यो भन्नेहरु अझै भेटिन्छन् । पाँच–सात वर्षअघि राधेराधेमा एक आना जग्गाकै मूल्य ६० लाखदेखि करोडौं थियो । तर, अहिले यहाँ सित्तैमा जग्गा दिन्छुभन्दा समेत नलिने अवस्था छ ।
एकातिर राधेराधेको सबै जग्गा सार्वजनिक, गुठी, ऐलानी, अर्कोतिर वर्षायाममा थोरै पानी पर्नेबित्तिकै डुबानमा परिहाल्ने भएकाले यहाँ जग्गा किन्ने कोही छैनन् । यो त एउटा उदाहरण मात्रै हो । भूमाफिया, दलालहरुले देशभरका जग्गा यसरी नै खण्डीकरण गरेर करोडौं मूल्य पुर्याए । उनीहरु सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी बढी, वनजंगल, तालपोखरी, खोला नदीको जग्गासमेत छोडेनन् ।
जग्गा राम्रो देखेपछि मानिसहरुले दलालीहरुले भनेजति मूल्य हालेर किने । तर, अहिले उनीहरुले थाहा पाएका छन् कि त्यो जग्गा सरकारी
हो । उनीहरु नराम्ररी फसेका छन् । एकातिर करोडौं हालेर जग्गा किनिएको छ, अर्कोतिर सरकारले जुनसुकै बेला हटाउन सक्छ । यसरी दलालीको लहैलहैमा लागेर धेरै फसेका छन् । गाडी छिमेक भारत र चीनबाट ल्याइन्छ । त्यहाँ ५० हजारदेखि दश लाखमा पाइने सवारी साधन यहाँका अटो शोरुमहरुले पाँच लाखदेखि करोडौंमा बेचेका छन् । सेयर बैंक, वित्तिय संस्था, जलविद्युत कम्पनीहरुले निष्काशन गर्ने गर्छन् । प्रतिकित्ता एक सयमा निष्काशन गरिएको सेयर दलालीहरुले मूल्य बढाएर ३५ सयसम्म पुर्याए । अहिले सेयरको मूल्य लगातार घटिरहेको छ । यसले यो तीन क्षेत्रमा लगानी गर्नेहरु चुलुम्मै भएका छन् ।
यही क्षेत्रमा लगानी गर्दा सहकारी, लघुवित्त र फाइनान्स डुबे अब बैंकको पालो आइसकेको छ । ठग्ने, लुट्ने पनि सीमा हुन्छ । समय हुन्छ । जबसम्म जनतामा चेतना आउँदैन, तबसम्म दलालहरुले ठग्न, लुट्न पाउने हो । अहिले जनतामा चेतना आइसक्यो । के मा लगानी गर्नुहुन्छ र के मा गर्नुहुँदैन ? बैंकबाट ऋण लिनुहुन्छ कि हुँदैन ? भनेर जनतामा सचेतना जागिसकेको छ । जसले गर्दा सबैको भागाभाग शुरु भइसक्यो ।

