Breaking News

रविका कारण ठमेल र दरबारमार्गका व्यवसायी चुलुम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा काठमाडौंको ठमेल र दरबारमार्ग एरियामा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिए । त्यसपछि कतिपयले कोठा, फ्ल्याट र सटर भाडामा लिएर रात्रीकालिन व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ एउटै कोठाको मासिक भाडा २५ देखि ३० हजारसम्म छ ।
फ्ल्याट तीन लाखसम्म पर्छ भने सटर त २२ लाखसम्म भाडामा जान्छ । खाली सटर ६० देखि ७० लाखमा किनबेच
हुन्छ । स्वदेशी र विदेशी पर्यटक यहाँ घुमफिरका निम्ति आउने गरेका छन् । तर, केही वर्षयता मुलुकभर छाएको आर्थिक मन्दीको प्रभाव यहाँ पनि देखिन्छ । झन् जेनजी आन्दोलनपछि त यहाँ पर्यटक आउनै छोडेका छन् ।
रोचक कुरा चाँहि त्यो आन्दोलन गर्न लगाउने रवि र महानगरका पूर्वमेयर बालेन्द्र साह –बालेन) थिए । उनीहरुकै कारण यहाँका व्यवसायी डुब्नुपरेको छ । करोडौं लगानी गरेर ठमेल र दरबारमार्गमा रात्रीकालीन व्यवसाय सञ्चालन गरेकाहरु चुलुम्म भएका छन् ।

एकातिर व्यापार छैन, अर्कोतिर महिनाकै लाखौं भाडा छ । भाडा घटाउन घरधनीहरु मान्दैनन् । व्यवसाय चल्दैन । अनि गर्ने के ? अर्कोतर्फ, राति व्यवसाय सञ्चालनले घरधनी र डेरामा बस्नेलाई एकदमै समस्या हुने गरेको छ । उनीहरु होहल्लाका कारण रातभर सुत्न पाउँदैनन् । सुरक्षा चूनौती पनि उत्तिकै छ ।

अहिले ठमेल र दरबारमार्ग एरियामा भाडामा बस्ने वा घरधनीहरु राति ७ बजेपछि घरबाट निस्कँदैनन् । किनकि त्यो समयपछि उनीहरु असुरक्षित महसुस गर्छन् । रात्रीकालीन व्यवसायका कारण केही लाभान्वित भएपनि धेरैजसो पीडित छन् । कतिपय दुर्व्यवहारमा समेत परेका छन् । आपराधिक घटना बढ्दो छन् ।

रविले सीमित व्यक्तिको लाभका निम्ति रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिँदा आफूहरु मर्कामा परेको ठमेल र दरबारमार्गका अधिकांश घरधनी र डेराबहाल बताउँछन् । ‘डिजे र मान्छेहरुको होहल्लाका कारण हामी रातभर सुत्न पाउँदैनन् । साँझ परेपछि बाहिर निस्कन पनि सक्ने अवस्था छैन,’ उनीहरु भन्छन् ।

यता, रविको निर्णयपछि यहाँ रात्रीकालीन व्यवसाय सञ्चालन गरेका धेरैजसो चुलुम्म भएका छन् । व्यापार नै नहुने उनीहरुको गुनासो छ । ‘नराम्ररी डुबियो नि,’ अधिकांश व्यवसायी भन्छन् । आम्दानीले भाडा तिर्नसमेत नपुग्ने उनीहरुको दुःखेसो छ । त्यसैले, धेरैजसोले व्यवसाय छोडिसकेका छन् । ठमेल र दरबारमार्ग नेपालकै महँगो स्थानमध्ये एक हो ।

यहाँ हरेक वस्तुको भाउ अन्य स्थानको तुलनामा दशौं गुणा बढी छ । अरु ठाउँमा दुई सयमा पाइने सामान यहाँ एक हजारसम्म पर्छ । घरभाडा पनि उत्तिकै चर्को छ । कुनै पनि बालेन्द्र साह (बालेन) ले हाँकेको काठमाडौं महानगरपालिकाभित्र पर्ने यो स्थान अस्तव्यस्त र व्यवस्थित छ ।

घरधनीहरुले डेराबहालसँग चर्को भाडा असुलिरहँदा महानगरले भने करसमेत नपाएको अवस्था छ । यहाँका घरधनीहरुले भाडाबाटै मासिक करोडौं आम्दानी गर्छन् । घर र जग्गामा करोडौं लगानी गरिएको हुन्छ । तर, उनीहरुले न घरबहाल कर तिर्छन् न लगानीको राजस्व ।

यहाँ राज्यका ऐन, कानूनमाथि घरधनीदेखि व्यवसायीसम्मले धोती लगाइदिएका छन् । उनीहरुको मनपरी चलिआएको छ । व्यवसायीहरु सर्वसाधारण ठग्छन्, घरधनीहरु डेराबहाल । घरधनीहरु महानगरलाई कर तिर्दैनन् तर बत्ती, पानी, फोहोर, इन्टरनेट र सवारी पार्किङको मनलाग्दी शुल्क उठाइन्छ । सेवासुविधा केही दिइँदैन ।

स्थानीय तहकै निरीहताका कारण डेराबहाल घरधनीहरुको ज्यादति सहन बाध्य छन् । डेराबहाललाई लुट्नु लुट्दासमेत महानगर भने मौन छ । ठमेल र दरबारमार्गमा सरकारी रेटअनुसार जग्गाको मूल्य आनाको ५० लाख हो । तर, बजारमा किनबेच आनाकै १४ कराडमा हुने गरेको छ ।

जेनजी आन्दोलनपछि स्वदेशी व्यवसायीमात्र होइन, विदेशी लगानीकर्ता पनि पलायन हुँदैछन् । नेपालमा नेपालीभन्दा माडवालीहरुको बढी लगानी छ । अधिकांश व्यापार व्यवसाय माडवालीहरुले नै सञ्चालन गरेका छन् । जेनजी आन्दोलनमा खर्बौको सरकारी र निजी सम्पत्ति खरानी बनाइयो । त्यसबाट उनीहरु तर्सिए । र, अन्ततः आफ्नै देश फर्किन निर्णयमा अधिकांश पुगेका छन् ।

यसले मुलुकमा अझ ठूलो आर्थिक मन्दी ल्याउने देखिन्छ । यसको प्रमुद जिम्मेवार रवि र बालेन हुन् । उनीहरुले सार्वजनिक रुपमै जेनजी आन्दोलनप्रति समर्थन जनाएका थिए । आन्दोलनलाई त्यो हदसम्म पुर्याउन पनि उनीहरुकै हात छ । तर, उनीहरुलाई नै सरकारले केही पनि गरेन । जेनजी आन्दोलनको सबै दोषी तत्कालिन सरकारमाथि थुपारेर उनीहरु उम्किन खोजेका छन् ।

चुनावपछि गठित सरकारले उनीहरुलाई कारबाही गर्नुपर्छ । किनकि अहिलेको सुशीला कार्की त उनीहरुले नै बनाएका हुन् । रवि र बालेन जे भन्छन्, कार्की त्यही गर्छिन् । त्यसैले, गौरीबहादुर कार्की आयोगले बालेनसँग बयान पनि लिएन । जबकी बालेनले फेसबुकमा अराजक स्टाटस लेखेर जेनजी आन्दोलनलाई त्यो हदसम्म पुर्याएका थिए ।
कोरोना महामारी, आर्थिक मन्दीका कारण शिथिल बनेको मुलुक जेनजी आन्दोलनका कारण झनै ग्रसित बनेको छ । मुलुक धेरैपछि धकेलिएको छ । यसको जिम्मेवार को ? आन्दोलन गर्न उकास्नेहरु किन जिम्मा लिन तयार छैनन् ? पहिले उकास्ने, अहिले पछि हट्ने । यस्तामाथि अब जनताले विश्वास गर्नुहुन्न ।

चुनावपछि गठन हुने सरकारले पनि केही गर्नसक्ने छैन । किनकि मुलुक ऋणैऋणमा छ । अहिले चुनाव पनि विदेशीसँग ऋण लिएरै गरिँदैछ । अनि ऋणबाट बन्ने सरकारले मुलुकलाई अघि बढाउन सक्छ त ? अर्कोतर्फ रवि र बालेन विदेशी शक्ति (अमेरिका) बाट परिचालित भएको आरोप बाक्लिँदो छ । चुनावपछि रास्वपाको सरकार बनेमा भारत र चीनले नाकाबन्दी लगाउने पक्का छ ।

त्यसपछि मुलुकमा झन् ठूलो संकट आउने छ । किनकि नाकाबन्दी गर्नेबित्तिकै नेपालमा भोकमारी शुरु हुनेछ । पेट्रोल, डिजेल र ग्यासको हाहाकार हुन्छ । जनता भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्छ । यसैले, चुनावपछि जोसुकैको सरकार बनेपछि संकट कायमै रहनेछ । ०४५ सालमा मरिचमान सिंह प्रधानमन्त्री रहँदा भारतले नाकाबन्दी गरिदिएको थियो ।

उनले चीनबाट खाद्यान्नसहितका आवश्यक सामग्री ल्याएर जनता बचाए । ०७२ सालमा नेपालमा संविधान बन्यो । लगत्तै भारतले नाकाबन्दी गरिदियो । केपी शर्मा ओलीले त्यसको विरोध गरे । पछि बल्लबल्ल भारतले नाकाबन्दी खोल्यो । चीन र अमेरिकाबीचको सम्बन्ध पानी बराबर छ । अहिले त अमेरिका र भारतको सम्बन्ध पनि चिसिँदो छ ।
अनि नेपालमा अमेरिका समर्थित सरकार बन्नेबित्तिकै चीन र भारत दुवैले नाकाबन्दी गर्नेछन् । तब आउने संकटबारे कल्पनासमेत गर्न सकिँदैन । त्यसैले, यो संकट आउन नदिन जनता आफैं चलाख हौं । सोचविचार गरेर चुनावमा भोट हालौं ।

रुषा थापा