Breaking News

जनता डुबाउन फेरि कसिए दलाली, लहैलहैमा लगानी नगरौं

बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत विभिन्न कम्पनीमा संस्थापक शेयर हुने गर्छ । यस्तो शेयर कम्पनी खोल्दा पदाधिकारी, कर्मचारीसहित बाहिरी व्यक्तिले पनि खरिद गर्दछन् । एउटै व्यक्तिले लाखदेखि करोडौंको संस्थापक शेयर किनेको पाइन्छ । कम्पनी जति नाफामा जान्छन्, शेयरधनीलाई उत्तिकै बोनस आउँछ ।

निजी संघसंस्थाले वर्षेनी साधारणसभा र लेखापरीक्षण गर्नुपर्दछ र सोको प्रतिवेदन तथा जानकारी सम्बन्धित निकायलाई समेत खबर गराउनुपर्छ । विशेषगरी बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनीले हरेक वर्ष साधारणसभा गर्नुपर्छ । त्यसक्रममा यी संस्थाले आफ्नो संस्थाको पूँजी, खर्च, आम्दानीलगायतमा छलफल गर्नुका साथै संस्था नाफामा रहेको भएमा शेयर होल्डरलाई बोनस दिने घोषणा गर्दछन् ।

सोहीअनुरुप उनीहरुले शेयर होल्डरलाई बोनस दिन्छन् । तर, पछिल्लो पाँच वर्षयता बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनी घाटामा छन् । सहकारी त अधिकांश भागेको छ, नभागेका सहकारी डुबेका छन् । लघुवित्त र फाइनान्स पनि चुर्लुम्मै भएका छन् । बैंकमा पनि संकट देखिन थालिसकेको छ । जलविद्युत र इन्स्युरेन्स कम्पनीहरुको पनि व्यापार ठप्पै छ । यसले कुनै पनि संस्थाले आफ्ना शेयर होल्डरलाई बोनस दिन सकेका छैनन् ।

बैंक, वित्तिय संस्थाबाट कर्जा लिएकामध्ये पाँच लाख बढी ऋणी कालोसूचीमा परिसकेका छन् । यी संस्थाको कर्जा लगानी विशेषगरी घरजग्गा, गाडी र सेयरमा पाइन्छ । आँखा चिम्लेर यी वस्तुमा लगानी गरे । एक करोडको धितोलाई एकै करोड कर्जा दिइयो । हुन पनि त हो केही वर्षअघिसम्म घरजग्गाको मूल्य दिनमा दुई र रातमा चार गुणाले बढ्थ्यो । एक करोडको धितो तीन करोड पुग्ने त्यसमाथि ऋणीले साँवाब्याजसमेत तिर्ने भएकाले आफू नडुब्नेमा ढुक्क भएर बैंक, वित्तिय संस्थाले विलासित वस्तुहरुमा कर्जा लगानी गरे ।

अर्कोकुरा एक करोड कर्जा दिँदा दश लाख घुस, तीन प्रतिशत सेवाशुल्क, १२ प्रतिशत भनेर ८० प्रतिशतसम्म ब्याज असुल्ने अनि तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने । बैंक, वित्तिय संस्थाका पदाधिकारी तथा कर्मचारीहरु आफूलाई एकदम चलाख ठान्थे । ‘हामीलाई जस्तो पैसा चलाउन कसैलाई आउँदैन,’ उनीहरु गर्वका साथ भन्थे । पैसा चलाउने नाममा उनीहरुले हजारौंलाई सडकछाप अवस्थामा पुर्याए । ऋणीलाई फसाएर धितो लिलाम गरे । ती ऋणीहरु आज घर न घाटको अवस्थामा पुगेका छन् ।

तर, भनिन्छ नि पाप धुरीबाट कराउँछ । बैंक, वित्तिय संस्थाले ऋणीलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याए त दलालहरुले बैंक, वित्तिय संस्था डुबाए । दलाल, भूमाफियाहरुले रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि करोडौंमा बेचेका
थिए । एक रोपनीमा १६ आना हुन्छ । एक सय प्रतिकित्ताको सेयर ३२ सयमा बेचियो । छिमेक भारत र चीनबाट ५० हजारदेखि पाँच लाखमा किनेर ल्याइएको सवारीसाधन यहाँ डेढ लाखदेखि करोडौंमा बेचियो । वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ रहेको सुन केही महिनाअघि पौने चार लाखमा किनबेच भयो । पाँच दशकअघिसम्म चाँदी सित्तैमा पाएपनि कसैले लग्दैनन् थिए भन्नेहरु अझै भेटिन्छन् । तर, त्यही चाँदी केही महिनामा दश हजारमा खरिदबिक्री गरियो ।

घरजग्गा, गाडी, सेयर र सुन विलासित वस्तु हुन् । कानूनले नै यी वस्तुलाई विलासित भनेको छ । हामी कहाँ यिनै विलासित वस्तुमा आँखा चिम्लेर सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्मले लगानी गरे, दलालीको लहैलहैमा । शुरुमा एकाएक मूल्य बढेको देखेर सबै यसैमा आकर्षित भए । कुनै मेहेनतबिना मालामाल हुने भएपछि ऋण लिइलिइ घरजग्गा, गाडी र सेयर किनिएको पाइन्छ । तर, कसैले थाहा पाएनन् कि यी वस्तुको मूल्य कृत्रिम रुपमा बढाइएको हो ।

कृत्रिम मूल्य धेरैसमय टिक्दैन । तर, घरजग्गाm गाडी र सेयरको मूल्य जहिल्यै अकालो लागिरहने आशामा धेरैले लगानी गरे । यी क्षेत्रमा मन्दी छाएको पाँच वर्ष भइसकेको छ । अहिले घरजग्गा कारोबार ठप्प छ । ३२ सयको सेयर २६ सयमा झरिसक्यो । गाडीको पनि मूल्य घट्दो छ । यी तीन वस्तुमा लगानी गरेका सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्म अहिले पछुताइरहेका छन् । मानिसहरुले ऋण लिएर घर बनाए ।
उनीहरुले सोचेका थिए कि यो घर महँगोमा बेचेर लाखौं, करोडौं नाफा खान्छु । अहिले त घर बनाउँदा लागेको लागतको आधामा बेच्न खोज्दासमेत बिक्दैन । बैंकको साँवाब्याज बढ्दै छ, घर बिक्दैन । उता, बैंकलाई पनि समस्या । ऋणीले कर्जा नतिरेपछि बैंकले गर्ने भनेकै धितो लिलाम हो । पहिला पो धितो सजिलै बिक्थ्यो र रातारात मूल्य बढ्थ्यो । अहिले त जतिसुकै सस्तोमा दिँदासमेत बिक्री हुँदैन । सेयर र गाडीमा पनि यस्तै छ ।

दलालीको विश्वासमा पर्दा जनतादेखि बैंक, वित्तिय संस्थासम्म नराम्ररी डुब्न पुगेका छन् । सहकारीबाट ऋण लिएकामध्ये ६३ लाख, लघुवित्तका २७ लाख, बैंकका २२ लाख ऋणीले कर्जा तिर्न सकेका छैनन् । उनीहरुले हात उठाइसके । उता, मीटरब्याजमा ऋण लिएका लाखौंले पनि हात उठाइसके । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याएको छ । योसँगै फेरि दलालीहरु जनता फसाउन कसिसकेका छन् । रास्वपाको सरकार बन्नेबित्तिकै घरजग्गा, गाडी र सेयरको मूल्य ह्वात्तै बढ्छ भन्दै बजारमा भ्रम फैलाइएको छ ।
त्यसैले, अब जनता सचेत हुनुपर्छ । लहैलहैमा लगानी गर्नुहुन्न । नभए राम्ररी डुबिनेछ । सरकार र सञ्चारमाध्यमहरुले पनि जनतालाई सतर्क गराउनुपर्छ । अफवाहको भरमा लगानी नगर्न सार्वजनिक रुपमा जनतालाई सचेत गराइनुपर्छ । किनकि जनता डुब्नु भनेको देश डुब्नुसरह
हो । सहकारी, लघुवित्त र फाइनान्स डुब्दा जनता डुबे । फलस्वरुप आज मुलुककै अर्थतन्त्रमा संकट आयो । त्यसकारण थप संकट आउन नदिन समयमै आवश्यक कदम चालौं ।

दलालीको त कामै जनता ठग्ने हो । तर, त्यसबाट जनतालाई बचाउनु सरकार र सञ्चारमाध्यमको पनि दायित्व हो । यसैले, अब जनतालाई सचेत गराउने बेला आइसकेको छ । इरान र इजरायलबीच चलेको युद्धका कारण नेपालको प्रमुख श्रम गन्तव्य खाडी मुलुक गुम्ने अवस्थामा पुगेको
छ । खाडी जान अब बन्द हुनेछ भने त्यहाँ रहेका नेपालीलाई पनि फर्काइँदैछ । देशभित्र रोजगारी छैन, खाडीमा प्रतिबन्ध अनि कसरी घरजग्गा, गाडी र सेयरको भाउ बढ्छ ? मान्छे आफैंले खाना नपाउने अवस्थामा कसले किन्छ यी वस्तु ? त्यसैले, जनता सचेत हौं ।

रुषा थापा