नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक्ने निर्णय पार्टीको हितमा नभएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गम्भीर प्रकारका निर्णय बलमिच्याइमा गर्न नहुने बताएका हुन् । ‘एमालेले जबजको सिद्धान्त मान्छे, त्यसले कुनै व्यक्तिलाई राजनीति गर्नबाट रोक्न छेक्न सक्दैन’ उनले भने, ‘अहिलेको अवस्थामा कसैलाई पनि अपमान गर्ने, लाञ्छना लगाउने काम गर्नु हुँदैन । केन्द्रीय कमिटीको बैठकले केही निर्णय गरेको छ । त्यसमा हाम्रो केही फरक मत छ ।’
उनले विद्यालाई कसैले इन्ट्री दिन नपर्ने बताउँदै भने, ‘जनताको बीचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठुलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ ।’
विद्याको राजनीतिक सक्रियता निरन्तररूपमा अघि बढ्ने भन्दै उनले जनता र कार्यकर्ताले गर्नुपर्ने फैसला गर्ने बताए । ‘उहाँको सक्रियता रोकिँदैन । विधान महाधिवेशनमा सबभन्दा महत्त्वपूर्ण विषय यो विषय प्रवेश गर्छ’ उनले भने, ‘हामी फरक मत प्रस्तुत गर्छौँ र एमालेको सिँगै पंक्ति सही निष्कर्षमा पुग्छ ।’

