Breaking News

माइक्रो बस अनियन्त्रित भई सडकमा पल्टिदा ८ जना घाइते

धादिङमा माइक्रो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

बुटवलबाट काठमाडौं आउँदै गरेको बा।प्र। ०१-००२ ज ६७६३ नम्बरको माइक्रो शुक्रबार साँझ साढे ६ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ विशालटारस्थित पृथ्वी राजमार्ग सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार उक्त माइक्रोमा ११ जना सवार थिए।

आफै अनियन्त्रित भएर सडकमै पल्टिएपछि ८ जना घाइते भएका छन्।

घाइतेहरूमा पाल्पाका बिमल श्रेष्ठ, धादिङका सन्तोष परियार, मिलन परियार, केशव दमाइ, प्रमोद परियार,सरोज परियार, राजु परियार र रामेछापका कमलकुमार सुनाम छन्।

सबै घाइतेहरूलाई मलेखुस्थित राजमार्ग अस्पतालमा उपचारका लागि पठाइएको डिएसपी हमालले जानकारी दिए।

चालक पाल्पाको मातागढी गाउँपालिका-४ का २२ वर्षीय सुनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए।