भोलिबाट वैकल्पिक विधिबाट पठनपाठन शुरु गरिने

३२ जेठ, काठमाडौं । सरकारले भोलिदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्दैछ ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट, एफएमलगायतबाट पठनपाठन सुरू गर्न लागिएको हो ।

कोरोनाभाइरस महामारी रहेको, दिनहुँ संक्रमित संख्या वृद्धि भइरहेको र विद्यालयमा क्वारेन्टिन रहेकोले तत्कालका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पठनपाठन गर्न लागिएको हो ।

विद्यार्थीलाई विभिन्न टिभी च्यानल, रेडियो नेपाल, कान्तिपुर एफएमलगायतबाट विषयगत रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ ।

इन्टरनेट पहुँच हुने विद्यार्थीले युट्युबबाट पनि पठनपाठनका सामग्री हेर्न, पढ्न र सुन्न सक्छन् ।

केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार समय निर्धारण गरेर टिभी, रेडियोबाट पठनपाठनको व्यवस्था मिलाइएको छ ।

कुन टिभीबाट कुन बेला कुन विषयको पठनपाठन हुन्छ भन्ने जानकारी प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइसकिएको
छ ।

वैकल्पिक सिकाइ कार्यलाई निरन्तरता दिन श्रव्यदृश्य पाठ प्रसारण समय तालिका बनाइएको हो। असार १ देखि ३१ गतेसम्म एक महिनाका लागि वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाइन्छ ।

कक्षा १ देखि ८ सम्म आधारभूत तहका विद्यार्थीलाई विषयगत रूपमा सोमबारदेखि एनटिभी प्लस च्यानलबाट पढाइ सुरू हुन्छ ।

माध्यमिक तह कक्षा ९ र १० का लागि डिसहोम टिभीमार्फत् विषयगत पठनपाठनको व्यवस्था मिलाइएको केन्द्रको भनाइ छ ।

विद्यार्थीले यीबाहेक नेटटिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानलबाट पनि पढ्न सक्ने केन्द्रले जनाएको छ ।

आधारभूत तहका विद्यार्थीलाई विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विषयगत रूपमा पठनपाठन हुन्छ । कक्षा ९ र १० को हकमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पठनपाठनको समय तोकिएको छ । एक कक्षाको समयावधि करिब ३५ मिनेटको हुन्छ ।

केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले सम्भव भएसम्म विद्यार्थीलाई सबै विषय पठनपाठन गराइने बताए ।

‘टिभी, रेडियो, इन्टरनेट, एफएमबाट विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ,’ उनले सेतोपाटीसँग भने, ‘कक्षा ९ र १० लाई दिनमा तीनपटक रेडियो नेपालबाट पढाउँछौं । करिब डेढ घण्टाको कक्षा हुन्छ ।

भोली सोमबारदेखि कान्तिपुर एफएमबाट पनि पठनपाठनको काम सुरू गर्नेे बताएका छन् ।

‘कक्षा १ देखि ८ सम्मका पाठ अहिले रेकर्ड भइरहेको छ,’ थपलियाले भने, ‘सिकाइ सामग्री तयार छ । आवश्यक पर्ने स्थानीय तहले छपाइ गर्न सक्छ ।

कक्षा ९ र १० का पाठ्य सामग्री पनि रेकर्ड गर्ने काम भइरहेको र सरकारीबाहेक अरू संघसंस्थाले तयार पारेका सामग्री पनि उपयोग गर्न सकिने उनले बताए ।

‘अहिले सबै विषय पढाइ नहुन सक्छ। लकडाउनमा घरमा रहेका विद्यार्थीलाई सिकाइ निरन्तर राख्न केही विषय भने पनि पढाउन लागेका हौं ।

टिभी/रेडियो नहुनेले के गर्ने ?

घरमा टिभीररेडियो नहुने विद्यार्थी कसरी पठनपाठन क्रियाकलापमा सहभागी हुन्छन् त ? यो प्रश्नमा महानिर्देशक थपलियाले भने, ‘सिकाइ सामग्री छापेर विद्यार्थीलाई बाँडिन्छ ।

प्रायस् उच्च पहाडी र हिमाली भेगमा इन्टरनेट, टिभी वा रेडियोको पहुँच कम छ । यी भेगका विद्यार्थीलाई पनि वैकल्पिक विधिबाट पठनपाठन गराउन केन्द्रले उपाय सोचेको उनले बताए ।

‘वैकल्पिक विधि टिभी, रेडियो पहुँच नभएका विद्यार्थीलाई सिकाइ केन्द्र गठन गरेर स्वयमसेवी वा शिक्षक परिचालन गरी पाठ्यपुस्तकरसिकाइ सामग्री छापेर वितरण गर्ने व्यवस्था मिलाइन्छ ।