काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चा वडा तहसम्म विस्तार गरी पार्टी एकताको आधार बनाउने नेताहरूले दाबी गरेका छन् । माघ २ गते नेकपा(एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले वैचारिक, सैद्धान्तिक पक्षमा समान धारणा बनाएर पार्टी एकता गर्ने विषयमा शीर्ष नेताहरू एकमत देखिएका थिए ।
विचार र एजेन्डाको आधारमा पार्टी एकता गर्न माओवादीबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन सक्रिय छन् । एकीकृत समाजवादीबाट पूर्वमहासचिव डा.बेदुराम भुसाल र वरिष्ठ नेता प्रमेश हमाल रहेका छन् । नेकपाबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा र नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ सक्रिय छन् ।
नेपाल समाजवादी पार्टी(नेसपा)का महासचिव रमेशप्रसाद यादवले वैशाख १० गते नेकपा स्थापना दिवसका अवसरमा एकताको घोषणाका लागि प्रयास भइरहेको बताए ।
‘विचार र एजेन्डाको आधारमा पार्टी एकता गर्ने गरी अगाडि बढी राखेका छौँ । माओवादीसँग एकता गर्न हाम्रो पार्टी र विप्लवजीको पार्टीभित्र कुनै समस्या छैन । नेकपा स्थापना दिवसको अवसरमा एकता गर्नेगरी घोषणा हुन पनि सक्छ’, उनले भने, ‘माधवजीलाई पनि मनाएर एकता गर्ने गरी माओवादीबाट देव र वर्षमानजी सक्रिय हुनुभएको छ । माधवजीको पार्टीबाट प्रमेश र बेदुरामजी सक्रिय हुनुहुन्छ । माधवजीको धारणा माओवादी युग समाप्त भएकाले एउटै समाजवादी केन्द्र बनाएर जाऊँ भन्ने मत छ । वैचारिक, राजनीतिक पार्टीको कार्यदिशामा सहमत भए चार दलबिचमै एकता हुन्छ ।’
माओवादी र एकीकृत समाजवादीका चार जना नेताहरूबिच पछिल्लो पटक विभिन्न चरणमा छलफल भइरहेको दुवै पार्टीका नेताहरूले जिकिर गरेका छन् ।
- जनकपुरमा वृहत्त सभा गर्ने
मोर्चाले यसअघि नै मधेसमा वृहत्त आमसभा निर्णय गरेको थियो । अहिले त्यसकै तयारीका लागि मोर्चाका नेताहरू मधेसमा केन्द्रित रहेका छन् । फागुन २ गते बसेको प्रदेशस्तरी चार दलको बैठकले प्रत्येक दलबाट तीन–तीन जना गरी १२ जनाको कार्यदल बनाएको छ ।
जसअनुसार चैत ९ गते जनपुरमा वृहत्त आमसभा गर्न केन्द्रीय नेतासमक्ष प्रस्ताव यादवले जानकारी दिए । यादवका अनुसार मधेसका ८ जिल्लाबाट दुई–दुई जना गरी ६४ जनाको छुट्टै कार्यदल बनाइएको बताए । आमसभामा २० हजार मान्छेको भेला गराउने यादवले दाबी गरे ।
‘हाम्रो पार्टीका अध्यक्ष महिन्द्रजीको अध्यक्षतामा फागुन २ गते प्रदेशस्तरीय बैठक बसेको थियो । चार दलबाट तीन–तीन जनाको कार्यदल बनेको छ । प्रत्येक जिल्लामा दुई दुई जना गरी ६४ जना कार्यदल बनाउने तयारी भएको छ । १२ जना कार्यदलमध्येबाट ४ जनाको सचिवालय बनाउने छौँ । सभामा २० हजार मान्छे भेला गराउने छौँ’, उनले भने ।
यादवका अनुसार बारा र पर्सा विप्लव नेतृत्वको नेकपालाई परेको छ । नेसपालाई रौतहट र सर्लाही दिएको छ । माओवादी केन्द्रलाई महोत्तरी र धनुषा तथा एकीकृत समाजवादीलाई सप्तरी र सिरहा जिल्ला दिएको छ ।

