काठमाडौं । आज फागुन ७, गते प्रजातन्त्र दिवस । प्रजातत्त्र दिलाउन शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै आज विविध कार्यक्रमका साथ देशभर प्रजातन्त्र दिवस मनाइँदै छ ।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहार अनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको र सोही जनक्रान्तिको जगमा टेकेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको राजनीतिशास्त्रीहरु बताउँछन् ।
प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा शीर्ष नेतृत्वहरुले देशबासीलाई छुट्टा–छुट्टै शुभकामना दिएका छन् ।