बाहिरबाट उपत्यकामा प्रवेशका लागि सम्बन्धित स्थानीय तहको स्वीकृत चाहिने

३२ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ ।

काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्नेछ ।

‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन,’ प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार निकालेको सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्छ ।

‘सरकारी वा संस्थागत कामका काठमाडौं बाहिर जानुपर्ने भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित यस कार्यालयमा सम्पर्क राख्नु हुन’ सूचनामा भनिएको छ ।

काठमाडौंमा भने सवारी पास नचाहिने प्रशासनले जनाएको छ। ‘जिल्लाभित्र जोररबिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको छ,’ प्रशासकीय अधिकृत बुढाले भनेका छन्।