परमात्माको दिब्यताबाट
अनुग्रहित भइ,
चेतनाबाट जागृतिको लय छुन
खोज्छ,
हिमशिखरको शिखरमा रहि,
अणुसँग परीधी निर्माण गर्दै,
जगतमा उदाउँछ ,
प्रत्येक पलमा र थाहा नै नदिइ,
उज्यालोलाई सम्प्रेषण गरेर
निर्मल देहमा,
अस्थाउँछ अर्को बिहानिको
पर्खाईमा आत्माको ज्योती ।।
घडि, पला र प्रहर नामका समयसँग
सृष्टि चक्रलाई जोडेर,
एउटा निर्जिव सरहको सजिव देहलाई
प्राणरुपी चेतनाको उपहार
दिएर,
आशाका सयौं लहरहरु प्रदान गर्दै,
निरशताको पथमा उज्यालो गन्तव्य
प्रदान गर्दछ,
आत्माको ज्योती !!
समयले दिएका सुन्दर सपनाहरु,
अनि तिनै सपना साँच्न खोज्दा
खडा भएका भयंकर अवरोधहरु,
सुन्दर भविष्यको कल्पना गर्दा
खडा भएका
कहाली लाग्दो, तितो अनि निर्मम
समयकै रापहरुलाई
आफ्नै पैतालाले किल्चेर
आफ्नो सपनाको देहान्त
भएर हराएको ममताका परीधिहरुलाई,
पुरेर पुनः नयाँ
जीवन मार्ग कोर्न हरदम
प्रेरीत गरीरहन्छ आत्माको सुर्य,
केही समयको तातो राप पछि,
केही समयका भुमरीहरुलाई
पार गरेपछि,
केही दोबाटोमा लगभग सबै द्वार बन्द गरेर
मर्यादाको कडा परीक्षा पास गरेपछी,
धैर्यताको राप भित्र इमान्दारीताको
नमिठो बध गरेपछी,
अनगिन्ती काला रातहरु,
आँशुको सागरमा पौडिएर
पार गरेपछी,
मिठो लाग्न थाल्छ,
परीश्रमको फल,
मीठो लाग्न थाल्छ,
एकान्तको थकाई,
मीठो लाग्न थाल्छ,
संघर्षरत कदमले टेकेको
रापिलो भुमी,
अस्तित्व, आत्म्म सम्मान अनि
सपना र कल्पना भित्रको दुखका
तरंग सँगै बहेका केही खुशीका
लहरहरु,
तब मात्र चम्किन थाल्छ आत्माको ज्योती,
ममतारुपी छाँयाको साथ जस्तो,
मातृत्वको पुरै जीवन
ममताले रंगाउन सक्ने हत्केला जस्तो,
निर्मल, कन्चन सागरको भेल,
अनि सुर्यको न्यानो किरण जस्तो
आत्माको ज्योती बनेर गुरुका
बलिदानले धर्ती सिंचित हुन पुग्दछन,
र निष्क्रिय प्राणिहरुमा चेतनाको
लय जागरुक हुन पुग्दछ ।।
सुशिला शर्मा “शिलु”

