Breaking News

राजश्व नउठ्नु र वैदेशिक ऋण बढ्नुलाई ‘ठग’ हरु कमाउने अवसर बनाउँदै, राज्य टुलुटुलु ठगिएको रमिता हेर्दै !

एकाध वर्षदेखि एउटा विषयको गाउँदेखि शहरसम्म चर्चा छ, त्यो हो,‘सरकारले भत्ता र पेन्सन काट्छ ।’ राज्यको ढुकुटीमा राजश्व उठ्न सकेको छैन्, वैदेशिक ऋण बढेको बढ्यै छ अनि त्यस्तो चर्चा चल्नु स्वाभाविकै हो । त्यसको फाइदा उठाउँदै केही ठग मानसिकता भएका राजनीतिक दलका कार्यकर्ताले संगठन खोलेका छन् ।

जसको सदस्य भूपू सैनिक, निजामती कर्मचारीदेखि ज्येष्ठ नागरिकसम्म छन् । ती संघसंगठनको एजेण्डा भत्ता र पेन्सन काट्न नदिने हो । त्यही प्रलोभनमा परेर वृद्धवृद्धा र एकल महिलाहरु संघसंगठनको सदस्य बनिरहेका छन् । विभिन्न पार्टीसम्बद्ध त्यस्ता संघसंगठनले शुरुमै वृद्धवृद्धा, एकल महिलाबाट पाँच सयदेखि दुई हजार रुपैयाँ लेबी उठाउँछ र पार्टीको सदस्य पनि भिडाउँछ । यो धन्दा पछिल्लो समय व्यापक चलेको छ । सरकार अप्ठेरोमा परेको विषय केही व्यक्तिका लागि कमाउने अवसर बनेको छ । भोलिका दिनमा उनीहरु नेता बन्छन् । ज्येष्ठ नागरिक खारिएका व्यक्ति हुन् । उनीहरुले दुनियाँ देखिसकेका छन् । यत्तिकै उनीहरुको कपाल सेतो बनेको होइन् ।

तर, त्यही वृद्धवृद्धाबाट त्यस्यो बचपना हर्कत भइरहेको छ । आफूले के गर्दैछु भनेर वृद्धावृद्धले हेक्का राखेको देखिँदैन् । यता, निजामती कर्मचारीहरु शिक्षित व्यक्ति हुन् । लोकसेवाले लिने परीक्षा पास गरेर उनीहरु निजामती क्षेत्रमा प्रवेश गरेका हुन् । १६ वर्ष जागिर खाइसकेपछि उनीहरु रिटायर्ड हुन्छन् । यद्यपि, उनीहरुलाई नै सही र गलतको भिन्नता थाहा छैन् । उनीहरुले त अरुलाई सम्झाउनुपर्ने हो । तर, आफैं त्यस्ता संगठनको सदस्य बनिरहेका छन् । पढेर मात्र मान्छे शिक्षित हुँदैन् भनेर त्यत्तिकै भनिएको होइन् भन्ने उदाहरण सरकारी कर्मचारीहरुले दिएका छन् ।

सरकारी कर्मचारीलाई सरकारको कामकारबाहीबारे सबै थाहा हुन्छ । राज्यको ढुकुटीमा पैसा नै छैन् भने जसले जति नै दबाब दिएनि के लाग्छ ? संगठनले पैसा दिने होइन्, राज्यले हो । त्यसका लागि राज्यसँग पैसा हुनुपर्यो । पैसा भयो भने राज्यले भत्ता र पेन्सन रोक्दै रोक्दैन् । तर, यति सामान्य कुरा पनि सरकारी कर्मचारीले बुझ्न सकेनन् ।

फोगट्टे आफ्नो पैसा र समय खेर फालिरहेका छन् । एकातिर कार्यक्रममा जाँदा समयको सत्यानास हुन्छ अर्कोतिर सदस्यताको नाममा पैसा खर्च । फेरि त्यो वर्षेनि नवीकरण पनि गर्नुपर्ने हुन्छ । जागिरबाट रिटायर्ड भएपनि सरकारी कर्मचारीहरु फुक्काफाल हुँदैन् । बाहिर बसेपनि उनीहरुले राष्ट्रविरोधी काम गर्न पाउँदैनन् । राष्ट्रविरोधी काम हुन लाग्यो भने सरकारलाई उनीहरुले सूचना दिनुपर्छ । देशलाई अप्ठेरो पर्यो भने उनीहरु फेरि सेवामा फर्किनुपर्छ । देशमा आर्थिक मन्दी हुँदा जनताले कर तिर्न सकेका छैनन् । जनताले कर तिर्न नसकेपछि सरकारले वैदेशिक ऋण २७ खर्ब ल्याएर पेन्सन र भत्ता बाँड्यो ।

देश धितो राखेरै भएपनि सरकारले दियो । अब सरकारको स्रोत नै छैन् भने कहाँबाट ल्याएर दिओस् ? यति कुरा त नपढेकै जनताले पनि बुझ्छन् । विडम्बना, शिक्षितहरुले नै बुझेनन् । उनीहरु आफैं लुटिएका छन्, अन्यलाई पनि प्रोत्साहन गरिरहेका छन् । दुनियाँ देखेका र सरकारी कर्मचारीहरु त ठगिन्छन् भने आम सर्वसाधारण ठगिनु स्वाभाविकै हो ।
लुटहरुले पढेकैलाई त मुर्गा बनाइरहेका छन् भने नपढेका, कलिला बालबालिकाहरु ठगिनुलाई आश्चर्य मान्न सकिँदैन् । यहाँ त पाइलैपिच्छे लुटहरुको बिगबिगी छ । कोही माताको नाममा सर्वसाधारणलाई लुटिरहेका छन् त कोही धामीझाँक्रीको नाममा । अन्धविश्वासका कारण मातालाई आफ्नो सारा श्रीसम्पत्ति चढाइरहेका छन् ।

अस्पतालमा गएर उपचार गर्नुपर्नेमा धामीझाँक्रीका पुगेर आफ्नो ज्यान फाल्छन् । कसैलाई म्यानपावर र कन्सल्टेन्सीले ठगिरहेको छ त कसैलाई बैंक तथा वित्तिय संस्थाले । अबचाँहि भत्ता र पेन्सनको नाममा ठगिने क्रमको पनि शुरुवात भएको छ । व्यवसायी गरेर ठग्ने पनि राजनीतिक दलका कार्यकर्ता, संघसंस्था खोलेर सर्वसाधारण ठग्ने पनि राजनीतिक दलकै कार्यकर्ता ।

ठग्नका निम्ति योजना बनाउने राजनीतिक दलका कार्यकर्ता हुन् । उनीहरुले नै सिकाएर कार्यकर्ताहरुले यस्ता काम गरिरहेका छन् । सुन तस्कर पनि राजनीतिक दलकै कार्यकर्ता, भुटानी प्रकरणमा पनि राजनीतिक दलकै कार्यकर्ता, करोडौं रुपैयाँ तस्करीमा पनि राजनीतिक दलकै कार्यकर्ता, मीटरब्याजमा पनि राजनीतिक दलकै कार्यकर्ता ।

ल्घुवित्त पनि राजनीतिक दलकै कार्यकर्ताले सञ्चालन गरेका छन् । जग्गा प्लानिङ्गमा पनि राजनीतिक दलकै कार्यकर्ता । यसको नाइके पुष्पकमल दाहाल, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत हुन् । ठग्न सिकाएकै उनीहरुले हो । पर्दाभित्र बस्ने अनि सेटिङ्ग मिलाउने । वृद्धवृद्धा र ज्येष्ठ नागरिकले अब के ख्याल गर्नुपर्छ भने देश रह्यो भने हामी रहन्छौं । राज्यको ढुकुटीमा पैसा छ भने सरकारले दिईहाल्छ । विगतमा पनि विभिन्न पोलेसी ल्याएर सिधासाधी जनतालाई ठगियो । उपहारको प्रलोभन देखाएर धेरैलाई लुटियो । त्यसबाट लाखौं मान्छे पीडित भए ।

सहकारी ठगी तात्तातो छ । संस्थाले त करोडौंलाई ठगेको छ भने व्यक्तिले ठग्दैन् । अनि जनतामा कहिले चेतना आउँछ ? आफू खाडलमा नपरेसम्म जनताको चेत नखुल्ने नै हो । विभिन्न प्रलोभन देखाएर ठगीधन्दा चलाइरहेकाहरुलाई न राज्य समात्न सक्छ न सचेतना नै फैलाउन सक्छ । ठगहरुबाट जनता बचाउन सरकार निरीह छ । विज्ञापन बोर्डले जनतालाई कहिलेपनि सचेत गराउँदैन् । यस्ता ठगहरुको कार्यक्रममा कोही पनि नजाऔं । बरु उजुरी हालेर कारबाहीको दायरामा ल्याऔं । एउटा जिम्मेवार नागरिकको भूमिका निर्वाह् त गरौं । पेन्सन र भत्ताको आश्वासन दिएर ठग्नेहरुलाई कारबाहीको दायरामा लाउन तातियौं ।

सरकारले आफू पनि खाऔं, परिवार पनि पाल भनेर पेन्सन र भत्ता दिएको हो । तर, त्यसलाई खेर नफालौं । ठगहरुको चंगुलमा परेर जनताले तिरेको करको दुरुपयोग गरौं । जजसले यस्ता संस्थाको सदस्यता लिएका छन्, सरकारले तिनलाई पनि कारबाही गर्नुपर्छ । सरकारले गलत ठाउँमा लगानीका लागि पेन्सन र भत्ता दिएको होइन् नि । घुस लिने र दिने दुवै अपराधी हो । पेन्सन र भत्ताका लागि हजारौं रुपैयाँ हालेर सदस्यता लिनु पनि घुस लिनु र दिनुसरह हो । गृह मन्त्रालयहरुले अब त्यस्ता व्यक्तिहरुलाई धुइँधुइँती खोजेर कारबाही गर्नुपर्छ । भनिन्छ नि,‘शत्रु खोज्न टाढा जानुपर्दैन् ।’ आफ्नाले नै आफ्नालाई ठग्ने र लुट्ने हो । ठग संस्थाहरुले कमिशनको प्रलोभन दिएर सदस्य ल्याउन व्यक्तिहरु खटाएका छन् । उनीहरुले नै त्यस्ता संगठनमा लिएर जान्छन् । र, उनीहरु पनि ठगिन्छन् । अहिले त आफ्नै साथीभाइबाट बच्न गाह्रो भएको छ । बुढापाकाले भन्छन् नि,‘एउटाको घरमा झगडा भयो भने त्यसको फाइदा छिमेकीले उठाउँछ ।’

राजश्व नउठेको, विदेशीले ऋण नदिएको फाइदा ठग मानसिकता भएकाहरुले उठाइरहेका छन् । तर, राज्य हातमाथि हात राखेर बसेको छ । संस्थाहरुलाई दिने सदस्यताको पैसा राज्यको ढुकुटीमा कर तिर्न प्रयोग गरौं । समून्द्रमा पानी भयो भने सबैले खान पाउँछन् । त्यस्ता बेकामको संघसंगठनमा गएर समय फाल्नुको साटो केही काममा लागौं ।

बाटोघाटो सफा गरौं, पुल बनाऔं । आफ्नो घरअगाडिको फोहोरचाँहि राज्यले उठाइदिनुपर्छ । राज्यले सफा गरिदिनुपर्छ । अनि जनताचाँहि यस्ता अनावश्यक काममा गएर समय फाल्छन् । तिर्खालुकहाँ खोला आउँदैन्, तिर्खालु स्वयं जानुपर्छ । कर तिरेपछि राज्यले दिइहाल्छ । जनताले कहिले समय र पैसाको महत्व नै बुझ्नेन् । लहैलहैमा हिँड्ने प्रवृत्ति मौलाएको
छ । जनता केही नगर्ने अनि राज्यमाथि दोष थुपार्ने । आफूपनि ठगिनबाट बचाऔं, अरुलाई पनि बचाऔं ।

अनुसा थापा