Breaking News

कांग्रेस सांसद राजेन्द्र बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेविरूद्ध उजुरी

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेविरूद्ध उजुरी दिएका छन्।

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटन मन्त्री पाण्डेविरूद्ध गोरखा १ बाट निर्वाचित कांग्रेसकै सांसद बजगाईले पार्टी अनुशासन समितिमा फागुन २८ गते उजुरी दिएका हुन्।

‘नेपाली कांग्रेसका पदाधिकारी नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेद्वारा हालसालै सार्वजनिक रूपले व्यक्त गरिएको विचारप्रति गम्भीर आपत्ति जनाउँदै अनुशासनात्मक कारबाहीको माग गर्दछु,’ उजुरीमा उल्लेख छ।

मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर परिसरमा दिएको अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको दाबी बजगाईको छ।

‘कांग्रेस, जसले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय गणतन्त्रको रक्षा गर्दै आएको छ, त्यसका एक जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत रहेको देखिन्छ,’ उनले भनेका छन्।

साथै कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्ने भएकोले एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन नसक्ने उनको भनाइ छ। ‘पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्घन हो,’ उजुरीमा उल्लेख छ।

उनले अनुशासन समितिलाई मन्त्री पाण्डेको अभिव्यक्ति ध्यानमा राख्दै छानबिन गरी कारबाही गर्न माग गरेका छन्।