काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।
देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना बोर्डले अघि सारेको छ ।
परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशन अनुसार बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणको परम्परागत शैलीमा परिवर्तन गरेको छ । विगतका वर्षहरूमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने र गोप्य केन्द्रहरू तोकेर परीक्षण गर्ने प्रचलन थियो । यसले गर्दा ओसारपसार र समन्वयमा धेरै समय खर्च हुने गर्थ्यो । तर यस वर्ष बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो । सोही क्षेत्रका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ ।

