अमेरिका संकटको संघारमा

“ मृत्यु देऊ वा स्वतन्त्रता” भन्ने नाराका साथ शुरू भएको अमेरिकी स्वतन्त्रता संग्राम पश्चात सन् १७७६ जुलाई ४ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको घोषणा भयो । अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा भनिएको थियो : “ हामी यि सिध्दान्तहरूलाई स्वयमसिद्ध मान्दछौ कि सबै मानिस समान छन्, उनीहरूलाई उनका सृष्टिकर्ताबाट केही निश्चित् अबिछिन्न अधिकारहरू प्राप्त छन । जीवन, स्वतन्त्रता र सुखको चाहना यिनै अधिकारमध्ये हुन् । अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा नागरिकको जीवन, स्वतन्त्रता, समानता र प्रतिष्ठाको प्रत्याभूत हुनु मानब जातिको इतिहासमा एक युगान्तकारी घटना हो ।

वैदेशिक हस्तक्षेप बिरूद्ध राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताको पक्षमा गौरवपूर्ण स्वतन्त्रता संग्रामको लडाई लड्ने अमेरिकी जनता आज “न्याय छैन, शान्ति छैन ! (no justice, no peace !) को गगनभेदी नारा लगाउदै मानब अधिकारको गम्भिर हनन् बिरूद्धको आन्दोलनमा सडकमा उत्रिन बाध्य भएका छन् । कोभिड–१९ को महामारीलाई रोक्न असफल डोनाल्ड ट्रम्प प्रशासनको विश्वव्यापी रूपमा आलोचना भैरहेको बेला अहिले राष्ट्रपति ट्रम्प मानब अधिकार उल्लंघनको मुद्दामा घेरिएका
छन् ।

घटना सन् २०२० मे २५ को साँझ ८ बजेको हो । अमेरिकाको मिनिसोटा प्रान्तको मिनियापोलिस शहरको एक कपफुड स्टोरमा घटेको सामान्य घटनाको बिषयमा तीन जना प्रहरी अधिकृतहरू घटना स्थलमा पुगी अश्वेत नागरिक ४६ बर्षीय जर्ज फ्लोयडलाई नियन्त्रणमा लिई हातमा हत्कडी लगाइ गाडीमा राख्ने क्रममा जर्ज फ्लोयड जमीनमा लडेको अबस्थामा श्वेत प्रहरी अघिकारी डेरेक शोविनले जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्छन् र अन्य दुइ प्रहरी अधिकृत टुलुटुलु हेरेर बस्छन् । घुँडाले घाँटीमा थिचेपछि उकुसमुकुस भएका जर्ज फ्लोयडले “ मेरी आमाको कसम, म सास फेर्न सकिरहेको छैन, कृपा गरेर मलाई छोडिदिनुस” भनेर याचना गरि रहदा पनि ८ मिनेटभन्दा पनि धेरै समयसम्म घाँटीमा घुँडाले थिचिराखेपछि जर्ज फ्लोयडको मृत्यु हुन्छ । प्रहरीले नियन्त्रणमा लिई हातमा हत्कडी लगाई सार्बजनिक स्थलमा प्रत्यक्षदर्शी सर्बसाधारणलाइ आतंकित पार्ने गरि गरिएको यो क्रुर हत्या अमानबीय एबं बर्बरताको परकाष्टा हो ।

कोभिड–१९ को महामारीमा ठूलो क्षति व्यहोर्न बाध्य अमेरिकी जनता मानब अधिकारको गम्भिर अल्लंघनको घटना बिरूद्ध कोभिड–१९ महामारीको पर्वाह नगरि सडकमा उत्रिएका छन् । ट्रम्प प्रशासन बिरूद्ध उत्रिएको यो मानब सागरले सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेको छ । अमेरिकाका १४० भन्दा धेरै शहरहरूमा आन्दोलन फैलिएको छ भने ४० भन्दा बढी शहरहरूमा कर्फ्यु लगाइएको छ । आन्दोलनकारीहरू कर्फ्युको अवज्ञा गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलन कतै शान्तिपूर्ण छ भने कैयौ शहरमा हिंसात्मक हुनको साथै कैयौ लुटपाटका घटनाहरू घटेका छन् । आन्दोलनको क्रममा कयौ आन्दोलनकारीहरु मारिएका छन् भने हजारौ आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको छ ।

सन् २०२० जुन १ मा राष्ट्रपति कार्यालय अगाडि भएको बिरोध प्रदर्शनमा आन्दोलनकारीहरूले अमेरिकी झण्डा च्यात्दै तोडफोडमा उत्रिएपछि राष्ट्रपति ट्रम्प बंकरमा लुक्न बाध्य भएका थिए ।

कोभिड–१९ को महामारी र गृहयुद्धले संयुक्त राज्य अमेरिका संकटको संघारमा उभिएको छ । यो संकटको शान्तिपूर्ण एबं न्यायोचित हल खोज्नुको बदला राष्ट्रपति डोनाल्ड ट्रम्प सेना परिचालन गर्ने र आन्दोलनकारीहरूलाई जेल पठाउने धम्कि दिइरहेका छन् ।

मानब अघिकारको हनन बिरूद्धको यो आन्दोलन अब अमेरिकामा मात्र सीमित रहेन । यो घटनाको बिरूद्ध विश्वव्यापी रूपमा प्रदर्शनहरू भैरहेका छन् । ढिलो वा चाडो कोभिड–१९ महामारीको उपचार र अन्त्य त होला तर राष्ट्रपति ट्रम्पको यस्तै रबैयाले अमेरिकी संकटले सार्थक निकाश पाउला ? के अश्वेत, महिला, दलित, उत्पीडित, सिमान्तकृत बर्ग एबं समुदायप्रति विश्वव्यापी रूपमा भएको विभेद, उत्पीडन र शोषणको अन्त्य होला ?  यो आजको यक्ष प्रश्न हो ।