Breaking News

जोखिमपूर्ण क्षेत्रमा लगानीः सहकारीपछि डुब्ने पालो बैंकको, बचतकर्ता सचेत हौं

वर्तमान सरकारमा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री छन् । सोही पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री छन् । एमालेकै कार्यकर्ता महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गर्भनर छन् । विडम्बना, सरकार सञ्चालन र अर्थतन्त्र चलायमान बनाउने मूख्य भूमिकामा एउटै पार्टीका नेता, कार्यकर्ता हुँदा पनि देशको अर्थतन्त्र दिनप्रति दिन नाजुक अवस्थामा पुगेको छ । बजार व्यापक मन्दीमा छ । घरजग्गा, गाडी, सेयर, व्यापार व्यवसाय लगायतमा लगानी गरेका अधिकांश डुबेका छन् । सहकारी भाग्यो । करोडौं बचतकर्ताको रुवाबासी गरायो । लघुवित्त र फाइनान्सले पनि बचतकर्ताको बिचल्ली बनायो । अहिले बैंकमा पनि समस्या देखिन थालेको छ । सहकारीकै हालत बैंकको पनि हुने बजारमा चर्चा छ ।

चेक बाउन्स र कालोसूचीमा पर्नेहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । हरेक दिन कोही न कोही चेक बाउन्समा समातिएका हुन्छन् भने कालोसूचीमा पर्ने क्रम पनि जारी छ । ऋण तिर्न नसकेपछि बैंक तथा वित्तिय संस्थाले घरजग्गालगायत धितो लिलाम गर्दा लाखौं सर्वसाधारण सडकछाप अवस्थामा पुगेका छन् । सहकारीले पैसा खाइदिँदा पनि करोडौं सर्वसाधारण घर न घाटको भएका छन् ।

केही वर्षयता बजारमा मन्दी छ । विशेष गरी मन्दीको असर घरजग्गा, गाडी र सेयर कारोबारमा परेको छ । व्यापार व्यवसाय पनि उत्तिर्क घाटामा छन् । बजारमा लगानीकर्ताको अभाव छ । अहिले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न चाहने कोही छैन । बेच्न चाहने भने यत्तिकै भेटिन्छन् । मन्दीका कारण घरजग्गा, गाडी र सेयरको मूल्य सस्तिदैँ गएको छ ।
तर, यसको फाइदा सीमित व्यक्ति तथा दलालीहरुले उठाउन थालेका छन् । मानिसको मजबुरीको फाइदा उठाएर दलाली, माफियाहरुले आफ्नो स्वार्थ पुरा गरिरहेका छन् । यहाँ अधिकांश मानिसले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किनेका थिए । अहिले बैंकको ऋण तिर्न नसकेपछि उनीहरु मर्नु कि बाँच्नु अव्सथामा पुगेका छन् ।
एकातिर ऋण तिर्न पैसा छैन, अर्कोतिर धितो बिक्री हुदैँन । फेरि बैंकको ऋण नतिर्नेबित्तिकै कालोसूचीमा परिहालिन्छ । त्यसैले, अहिले अधिकांश मानिसले सस्तोमा धितो बिक्री गर्न थालेका छन् । तर, त्यसको फाइदा सीमित व्यक्तिहरुले उठाइरहेका छन् । बैंकको ऋण ५० लाख बाँकी छ र साढे दुई करोड पर्ने धितो भएमा उनीहरु डेढ करोडमै दिन तयार हुन्छन् ।

त्यसमा पनि ५० लाख तत्काल र बाँकी रकम दुई वर्षपछि दिने भनेर तमसुक गरिन्छ । यसैको फाइदा उठाएर दलाली, माफियाहरु धितो आफ्नो नाममा पास गर्छन् तर सम्झौता अनुरुप दुई वर्षपछि रकम दिदैँनन् । हिजो बैंक तथा वित्तिय संस्थाले घुसको आडमा आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरलाई कर्जा प्रवाह गर्यो । एक करोड ऋण दिँदा दश लाख त घुसै खाने । सेवाशुल्क तीन प्रतिशतसम्म लिने । ब्याज १६ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । बैंकहरुले छिट्टै नाफा कमाउन घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।

तर, उनीहरुले सोचेनन् कि यसको मूल्य कृत्रिम रुपमा बढाइएको हो । घरजग्गा, गाडी र सेयरको मूल्य बढाउनुमा दलाली, भूमाफियाहरुको ठुलो हात छ । यीनीहरुले पाँच हजार रोपनीमा बिक्री नहुने खेतीयोग्य जमिन प्लाटिङ गरी आनाकै लाखौंमा बेचबिखन गरे । भारत र चीनमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर दशौं गुणा बढी मूल्यमा
बेचे । यता, बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर ३२ सय पुर्याए । दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य कृत्रिम रुपमा बढाइरहे अनि आम नागरिक र बैंक, वित्तिय संस्थाले मूल्य बढेको देखेर लगानी गर्न हानाथाप गरे । अहिले यसको मूल्यमा गिरावट आउँदा व्यक्तिदेखि बैंकसम्म चुलुम्मै डुबेको छ ।

घरजग्गा, गाडी र सेयरमा लगानी गरेका धेरैले ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् । कतिपय देशै छोडेर भागेका छन् भने कतिपय डिप्रेसनमा गएका छन् । त्यस्तै, बैंकबाट ऋण लिएर यो क्षेत्रमा लगानी गरेकाहरु पनि ऋण तिर्न नसकेपछि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकै कारण ऊ राज्यबाट उपलब्ध सेवासुविधाबाट वञ्चित हुन्छ ।
बैंक खाता खोल्न पाउँदैन । न त विदेश जान पाउँछ । सरकारी सेवामा पनि प्रवेश पाइदैँन । यतिसम्मकि उसको तीन पुस्ताले यो भोग्नुपर्छ । सहकारीले करोडौं बचतकर्ताको खर्बौ रकम खाइदिएको छ । सहकारीको पनि लगानी घरजग्गा, गाडी र सेयरमै हो । बैंकको पनि सम्पूर्ण लगानी यही क्षेत्रमा रहेको छ । यसले अब बैंक पनि डुब्ने संकेत देखाएको छ ।

बैंकका बचतकर्ता पनि सहकारीकै बचतकर्ताको अवस्थामा पुग्ने देखिन्छन् । अहिले सरकार भन्छन्, ‘सहकारी सञ्चालक र संस्थाको नाममा भएको धितो बेचेर बचतकर्ताको रकम फिर्ता गछौं ।’ तर, धितो किन्छ चाँहि कसले ? त्यसमाथि धितोको मूल्य स्वाट्टै घटेको छ । करोडौंमा किनिएको घरजग्गा अहिले लाखमा बिक्री हुन्न । गाडी र सेयरको पनि यस्तै अवस्था छ ।
एकातिर किन्ने मान्छेको अभाव हुँदा अर्कोतिर धितोको मूल्य दिनप्रति दिन घट्दै गएको छ । अनि कसरी सरकारले बचतकर्ताको रकम फिर्ता गर्छ ? पछिल्लो समय पत्रपत्रिकामा बैंकले धितो लिलाम गरेको सूचना दिनहुँजसो देखिन्छ । हरेक पत्रिकामा बैंकको लिलामी सूचना भेटिन्छन् । बैंक धितो लिलाम गरेपछि त्यो बेचेर कर्जा उठाउँछ । तर, त्यो धितो किन्छ चाँहि कसले ? अहिले धितो बेच्ने बढिरहेका छन् । किन्ने भने शून्यझैं छन् । सरकारदेखि व्यक्ति, बैंक तथा वित्तिय संस्थाहरु धितो बेच्न लागिपरेका छन् । अनि किन्ने कसले ?

अर्थ मन्त्रालय र राष्ट्र बैंक समयमै चनाखो नहुँदा व्यक्तिदेखि बैंक, वित्तिय संस्था डुबेका हुन् । सरकारले करको लागि घरजग्गा, गाडी र सेयरमा लगानी गर्न दियो । यद्यपि, यो क्षेत्रमा लगानीका कारण डुब्न सकिन्छ भनेर सोचेन । घरजग्गामा कर्जा प्रवाह गर्दा सर्वसाधारण, बैंक वित्तिय संस्था डुबेका मात्र छैनन्, मुलुकको खेतीयोग्य जमिन सबै मासिएको छ ।
जसका कारण भविष्यमा भोकमारीको समस्या समेत निम्तिन सक्छ । यही क्षेत्रमा लगानीका कारण मुलुकको अर्थतन्त्र समेत संकटमा परेको छ । गर्भनर महाप्रसाद अधिकारीले नै घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाह गर्नु मुलुकको लागि ठुलो क्षति भएको स्वीकारेका छन् । तर, डुबेपछि थाहा पाएर के गर्नु ? घरजग्गा, गाडी र सेयरको मूल्य अझै कयौं वर्षसम्म बढ्दैन भनेर जानकारहरु बताउँछन् ।

यसले यो क्षेत्रमा गरिएको जोकोहीको लगानी नराम्ररी डुब्ने छ । अहिले बैंक घरजग्गा, गाडी र सेयरमा गरेको लगानी उठाउन सकिन्छ भनी ग्राहक खोज्दै हिँडिरहेको छ । तर, बैंक संकटमा परिसकेको छ । त्यसैले, अब बैंकमा बचत गरेका सर्वसाधारण सचेत हुनुपर्छ । नत्र सहकारीको बचतकर्ताजस्तै अवस्था हुने छ । सहकारीका बचतकर्ता त डुबेहाले तर बैंकका बचतकर्ता होशियार हौं ।

रुषा थापा