Breaking News

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध संगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा मुद्दा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध संगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा आज मुद्दा दायर भएको छ। आज दिउँसो सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

साधारण तारेखमा रहेका दुर्गा प्रसाई र केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को हिरासतमा रहेका हरिचन्द्र फुयाललाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो। अर्का प्रतिवादी तेह्रथुम घर भई झापाको बिर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनालीविरूद्ध पनि मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता कटुवालले बताए। मैनाली भने फरार छन्।

प्रसाईंले हरिचन्द्र र रामचन्द्रलाई परिचालन गरी भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा व्यवसायीहरूलाई रकम असुलीका लागि धम्क्याएको आरोप छ।

उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले आपराधिक लाभ लिन नहुने कसुर गरेको भन्दै सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्मको जरिवाना मागदाबी गरेको छ। त्यस्तै संगठित तर्फबाट थप ५० प्रतिशत सजाय माग गरी मुद्दा दर्ता भएको छ।