विजया दशमीको अष्टमी र नवमीका दिन आज मासु पसलहरुमा भीड देखिएको छ । मासु पसलेहरुलाई भ्याईनभ्याई छ । तर, विडम्बना कुरा के हो भने कर तिर्ने जनता घण्टौं मासु पसलमा लाइन बसेर आधा–एक किलो कुखुरा, खसी, बोका, राँगालगायतको मासु किनिरहेका छन् भने सर्वसाधारणको करबाट तलबभत्ता बुझ्ने सरकारी कर्मचारी, जनप्रतिनिधिहरु सिंगो खसी, च्याङ्ग्रा ढालिरहेका छन् ।
मुलुकमा लोकतन्त्र, गणन्तत्र आएपछि गरिबको पनि दिन आउँला भनेर आशा गरिएको थियो । तर, गणतन्त्र पनि शोषक, सामन्तीका लागि भएको सावित भएको छ । मुलुकमा लोकतन्त्र गणतन्त्रको स्थापनापछि गरिब झन् झन् गरिब हुदैँ गएका छन् त धनी झन् झन् धनी । अहिले पनि गरिबलाई दुई छाक टार्न धौंधौं छ । दशैँजस्तो महान् चाड समेत उनीहरुका लागि बोझ बन्दै गएको छ । किनकि दशैँ मनाउन उनीहरुसँग पैसा छैन । फेरि पैसाबिना त यो देशमा पानी समेत पिउन पाइदैँन । दशैँ लागिसक्यो तर गरिबको घरमा एक छाक मासु समेत पाकेको छैन । आधा किलो मासु किन्न पनि उनीहरुसँग पैसा छैन । दशैँ उनीहरुका लागि दशाजस्तै बनेको छ । छिमेकीको घरमा किलोका किलो वा सिंगो खसी काटेर खाँदा उनीहरुसँग भने आधा किलो मासु समेत किनेर खाने हैसियत छैन ।
यो वर्ष पनि दशैँ त आयो तर सिर्फ धनीका लागि । हुन त हुने खानेका निम्ति बाह्रै महिना दशैँ हो । नहुने, निःमुखाका लागि वर्षमा एक पटक दशैँ आउँछ । तर त्यो पनि उनीहरु मनाउन सक्दैँनन् । वर्षभरि मासु नखाएकाहरु दशैँमा खान पाइन्छ कि भनेर आशा गरिरहेका हुन्छन् । दुर्भाग्यपूर्ण साहुले तलब नदिँदा, बेरोजगारी अनि चर्को महँगीका कारण उनीहरु दशैँमा समेत मासु खान पाउँदैनन् । काठमाडौं उपत्यकाका मासु पसलहरुमा हिजो र आज बुझ्दा मासु पसलेहरु भन्छन्, ‘एक पाउ मासु समेत किन्न आएका छन् ।’ त्यस्तै, दही, दुध पसलमा पनि यस्तै छ । उपत्यका बस्ने नागरिकलाई त दशैँमा समेत एक पाउ मासु किनेर खान हम्मेहम्मे परेको छ भने उपत्यकाबाहिरको हालत के होला ? यो गम्भीर प्रश्न हो ? दशैँजस्तो महत्त्वपूर्ण चाडमा एक छाक मासु खान सर्वसाधारण तड्पिरहँदा सरकार के गरिरहेको छ ?
बुढोपाकाले भन्थे, ‘बोल्नेको पिठो पनि बिक्छ । नबोल्नेको चामल समेत बिक्दैँन ।’ यो ऊखान आम नागरिक र कर्मचारीको जीवनसँग मेल खान्छ । अहिले कर तिर्ने जनताको अवस्था यस्तो भइरहँदा त्यहँी करबाट तलबभत्ता खाने कर्मचारीहरु भने मोजमस्ती गरिरहेका छन् । हुन त काण्डैकाण्डमा मुछिएका सरकारमा बसेका र राजनीतिक दलका नेताबाट जनताले आशा पनि त के गर्ने ? प्रधानमन्त्री केपीशर्मा ओलीमाथि झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएको आरोप छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि त मानव तस्करीकै अभियोग छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको गम्भीर आरोप रहेपनि उनी नै मुलुकको परराष्ट्रमन्त्री छिन् । यता, अर्थमन्त्री विष्णु पौडेलमाथि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो छोराको नाममा पास गरेको आरोप छ । पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेमाथि त झन् सहकारीमार्फत हजारौं बचतकर्ताको करोडौं रकम हिनामिना गरेको अभियोग छ ।
उनलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस समेत गरिसकेको छ । यद्यपि, आफैं विभिन्न काण्डमा मुछिएको सरकारले अरुलाई के कारबाही गरोस् । अहिले जनताको सरकारमाथि विश्वास घट्दै गएको छ । दलहरु आफ्नो स्वार्थमा मात्र रमाउँदा सर्वसाधारण आक्रोशित र निराश हुदैँ गएका छन् । सहकारीले करोडौं बचतकर्ताको खर्बौ रकम पचाइदियो । तर, तीनै सहकारी सञ्चालकलाई कारबाही गर्न सरकार खुट्टा कमाउँछ । दशैँको अष्टमीका दिन आज समेत बाटोमा काम पाइन्छ भनेर मानिसहरु हिँडिरहेको देखियो । कोही नाम्लो बोकेर काम खोज्दै हिँडिरहेको पनि देखियो । अनि के दशैँ यीनीहरुजस्ता व्यक्तिका लागि चाँहि चाड होइन र ? कि दशैँ भनेको धनीमानीको मात्र चाड हो ?
प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, सांसदहरु आआफ्नो घरमा दशैँ मनाइरहेका छन् । बिडम्बना, सर्वसाधारण भने दशैँका दिन समेत कामका लागि भौतारिरहेका छन् । दशैँजस्तो महान चाडमा परिवार छोडेर विदेशिने पनि त्यत्तिकै छन् । अनि उनीहरुका लागि चाँहि दशैँ चाड होइन र ? दशैँ हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व हो । यद्यपि, केही वर्षयता यो पर्व हुने खानेका लागि मात्र बन्दै गएको छ । आमाबुबा हुँदाहुदैँ पनि सन्ततिको निधार खाली हुने गरेको छ । किनकि उनीहरु रोजगारीका लागि खाडी पुगेका छन् । छोराछोरीको यादमा अभिभावक दशैँ मनाउन सक्दैँनन । यता, देशमा बसेकाहरु पनि दशैँ मनाउन सकिरहेका छैनन् । वर्षौ काम गरेपनि साहुले तलब नदिँदा उनीहरुलाई दशैँ आएपनि आएजस्तो लाग्दैँन ।
अहिले पनि दशैँ आएपनि गरिबको घरमा आएको छैन । उनीहरु दशैँमा समेत कामका लागि भौतारिरहनु परेको छ । अनि दशैँ आयो चाँहि कसका लागि ? दशैँ कर्मचारी, जनप्रतिनिधिका लागि मात्र आएको छ । तर, उनीहरुका लागि मात्र वर्षभरि नै दशैँ आउँछ । सरकारले आम नागरिकको दशैँलाई सहज बनाइदिन केही गरिदिएन । न त गरिबका लागि एक छाक निःशुल्क खानाको व्यवस्था गरिदियो न त कालोबजारी, महँगी नियन्त्रण नै गर्न सक्यो । अनि यस्तो सरकारसँग हामीले अरु के आशा गर्ने ? त्यसैले, अब जनता तात्नुपर्यो । काम नगर्ने सरकारको विरोधमा उठ्नुपर्यो । मुलुकमा सरकार भएपनि जनताले अनुभव गरेका छैनन् भने त्यसलाई सरकार भएको भन्न मिल्दैँन । अहिले हाम्रोमा यस्तै भएको छ । सरकार त छ तर जनताले अनुभव गरेका छैनन् । हुन त देशै बेच्ने सरकारी कर्मचारी र नेताहरुले जनताका लागि के नै गर्लान् ? अहिले नै मुलुक धितो राखेर यीनीहरुले विदेशीसँग २७ खर्ब ऋण लिइसके । अझै लिने क्रम बढ्दो छ । जनताले तिरेको करमा पनि यीनीहरुले नै मोजमस्ती गरिरहेका छन् ।
विदेशमा रगतपसिना बगाएर हाम्रा नेपाली दाजुभाई, दिदीबहिनीले पठाएको रेमिट्यान्स पनि कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवाएरै पुगेको छैन । नेपालको धेरै भूभाग भारत र चीनले कब्जा गरिसकेको छ । सायद ती भूभाग अब हामीले कहिल्यै फिर्ता पाउने छैनौं । तर, बाँकी भएको भूभाग पनि जोखिममा छ । नेताहरुले विदेशीसँग ल्याउनु ऋण ल्याएका छन् ।
त्यो ऋण नतिर्नेबित्तिकै नेपालमाथि कब्जा जमाउन हानाथाप हुने छ । नेता, कर्मचारीले जनताले तिरेको कर पनि सकाए । विदेशी ऋण पनि पचाए । रेमिट्यान्स पनि उडाए । सत्तामा बस्न जहिल्यै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भयो । तर, विकास गर्न कहिल्यै भएन । यदि सत्तामा बस्न जतिकै मेहेनत दलहरुले मुलुकको विकास र समृद्धिमा लगाएको भए आज देश र जनताको अवस्था दयनीय हुदैँन थियो । तर, नेताहरुलाई सरकारमा जान मात्र हतार हुने र कर्मचारीलाई घुस भए पुग्ने प्रवृत्तिका कारण यस्तो अवस्था सिर्जना भएको हो । यो वर्ष पनि दशैँ त आयो तर नेता र कर्मचारीका लागि मात्र । जनता त दशैँमा पनि कामको खोजीमा हिँड्नुपरिरहेको छ । यसैले, अब हरेक नागरिक सचेत हुनुपर्यो । पार्टीको कार्यकर्ता भएर बोल्ने होइन, हिँड्ने होइन । नेपाली नागरिक भएर हिँड्ने र बोल्ने हो । किनकि नेताहरुले देश बेचिसकेका छन् । यद्यपि, अझै पनि हामी यो र त्यो पार्टीको कार्यकर्ता हौं भनेर हिँड्ने हो भने त्योभन्दा मुर्खता अरु केही हुन सक्दैँन ।
रुषा थापा
भक्तपुर