Breaking News

रवि लामिछानेलाई अदालतमा उपस्थित गराउँदैछ रास्वपा कार्यकर्ताले आन्दोलन गर्ने तयारी

सहकारी ठगी र संगठित अपराध मुद्धामा पक्राउ परेका रवि लामिछानेलाई आज प्रहरीले अदालतमा उपस्थित गराउँदैछ। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ। उनी विरुद्ध सहकारीका बचत पीडितले गत बर्ष माघ २२ गते नै जाहेरी दिएका थिए। उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए।

काठमाडौं रास्वपा पार्टी कार्यलयबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा ल्याइएको थियो। शनिबार सरकारी बिदा हुने भएकाले आज आइतबार उनलाई अदालत उपस्थित गराउन लागेको प्रहरीले बताएको छ।

गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रवन्ध निर्देशक रहेका बेला लामिछाने सहितको टोलीले विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकमको अधिकांश हिस्सा लामिछानेले खर्च गरेको संसदीय छानविन समितिको निष्कर्ष छ।

संसदीय छानविन समितिले कारबाही सिफारिस गरेपछि लामिछाने विरुद्ध ८ महिना अघि परेको जाहेरी प्रहरीले अघि बढाएको हो। पोखराको सुर्यदर्शन सहकारीबाट मात्र १७ हजार ८ सय बचतकर्ताले राखेको १ अर्ब ३५ करोड रुपैया अपचलन भएको पोखरा महानगरपालिकाको छानविनले देखाएको छ।

उक्त अपचलनको मुख्य योजनाकार मानिएको टेलिभिजनका अध्यक्ष एवं सहकारी संचालक जिबी राई फरार छन्। टेलिभिजनका पूर्व संचालक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् भने सोही टेलिभिजनका प्रवन्धक एवं सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल अहिले पूर्पक्षका लागि कारागारमा छन्।

हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला रास्वपा कार्यकर्ताले भने आन्दोलन गर्ने भएका छन्।