क्रुर र अमानविय,
जहाँ सुन्दर शहर घुम्दै
हुनेछन कुनैदिन,
भोकै नाङ्गै मर्न विवस बनाइएका
अस्थिपन्जरहरु,
रातभरी परीक्रमा गर्नेछन सायद
यश सुन्दर शहर भित्र,
जीवन जिउदो हुँदै गरीखान नदिएका
घुटन र पेटसँगको द्वन्दका घाउ लिएर ।।
उनीले मागेकी थिइनन, सुनको दरवार,
उनीले खोसेकी थिईनन् कसैको रोटी,
उनीले तानेकी थिईनन् ,कसैको
घुम्ने कुर्सी,
उनीले चाहेकी थिइनन,
वेमौसमका रहरहरु,
उनीले लुटेकी थिइनन कसैको खल्ती,
तर पनि आज उनी कैद भएकिछन ,
आफ्नै जन्मभुमिको मन्दिरमा
जिवनले दिएको नमिठो घाउ
मेटाउन पुग्दा उनी नराम्रो सँग
लखेटिएकी छन !!
बाध्यताको ठूलो खाडलमा,
बेरोजगार भएर ढलिरहेको
एक विवस महिला आज,
शक्तिशाली प्रशासकबाट चिया
बेचेको आरोपमा बन्दी भएकी छन् ।।
उनीलाई रहर थिएन,
धुलोको शहरका भित्ताभित्ता चाहार्दै
चिया बेच्न,
उनीलाई रहर थिएन,
सुकिला गाडी हुइकिने बाटो
वरीपरी बसेर आफ्ना आवरण
देखाउन,
र उनीलाई रहर थिएन,
आफ्नै माटोमा एकमुठी
प्राण धान्न चालेका कदमले
आफ्नै गरीबीको खिल्ली उडाउन ।।
उनीले बेच्नै पर्ने छ चिया,
घरका चिचिलाको रक्षार्थ,
आफ्नै माटोमा पसिना पोख्ने रहर
हेतु,
आफ्नो छाना, नाना र प्राण धान्नको
खातिर उनी अत्यन्त विवस छिन् ।।
कृपया सुन्दर शहरका शासकहरु,
गरीब हुनुनै अभिशाप हो भने
भ्रष्ट र कुटिल मानिसको मात्र
शहर हो भने,
बुद्ध जन्मिएको देशबाट शान्तिको
हनन् हुने हो भने,
अब मानवताको खोल ओढेर
मानवको खरानी मात्र भेट्नेछौ,
तिम्रो शहरले गरीवको कोखमा
लात हानेपनी,
घुम्ने कुर्सी र चिल्ला गाडिको मात्र स्वागत
गरेपनि,
एउटा कुनामा बसेर गरीबको
पसिना समेत
पैंचो नचल्ने भए पछि,
आखिरीमा,
अन्तिम भेट उतै हुनेछ,
चिया पोखिएको शहरको
एउटा यस्तो ठाउँ ,
जहाँ गरीबको आक्रान्त मन मुटु
पिल्सिएका स्थानमा,
तिम्रा पाउ समेत पुग्नेछन,
आर्यघाटमा !!
जहाँ तिम्रो सुन्दर शहर फोहोर गर्ने
मानिस सँगै अर्कोपटि
तिमी पनि जलिरहेको हुनेछौ,
र हाम्रो अन्तिम भेट त्यहि हुनेछ,
त्यस बखत चाहेर पनि म सँग हुने छैन
बेच्न आटेको चिया,
बोकेको थोत्रो एकदुई थान थर्मस,
हुनेछ त केबल मेरो अवशेष ।।