सरकारले हिजो सार्वजनिक बिदा दिएको थिएन् । तर, जडीबुटीस्थित सञ्चो बनाउने कार्यालयमा रोचक दृश्य देखियो । महिला कर्मचारी जम्मै रातो सारी पहिएर आएका थिए । उनीहरु कार्यालयको चौरमा रमिता देखाइरहेका थिए भने पुरुष कर्मचारीहरु उनीहरुको तस्बिर खिचिरहेका थिए ।
सडकबाट हेर्नेहरुको लर्को थिए । यता, बसमा सवाररत यात्रुहरुले पनि नियालेर हेरिरहेका थिए । हिजो त्यहाँका कर्मचारीले कामै गरेनन् । दर खाए, तीज माने, गए । जनताको काम रोकेर तीज मनाउन मिल्छ कि मिल्दैन् ? कर्मचारीले यो सोचेको पाइँदैन् । सरकारी कार्यालयमा सारी ढल्काएर नाँचगान गर्न मिल्छ ?
सरकारी कर्मचारीको त ड्रेस हुन्छ । कर्मचारीहरु अफिसको ड्रेसमा आउने हो, काम गर्ने हो । सार्वजनिक बिदा भएको भएपनि भिन्दै कुरा हुन्थ्यो । सरकारी कर्मचारीले जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, लुगा लगाउँछन्, सरकारी गाडी चढ्छन् । सरकारी कर्मचारी ऐनकानुनले बाँधिएका हुन्छन् ।
सर्वसाधारणले महिना दिन अगाडिदेखि तीज मनाउन मिल्छ । तर, सरकारी कर्मचारीले मिल्दैन् । सरकारी कर्मचारी राष्ट्र र जनताप्रति सँधै जिम्मेवार हुनुपर्छ । आफूले गरेका कामले समाजमा कस्तो प्रभाव पर्छ ? सरकारी कर्मचारीले सोच्नुपर्छ । हिजो उनीहरुले काम गरेनन् ।
राज्यलाई घाटा भयो । उनीहरुले काम नगरेपनि राज्यले तलब त दिनुपर्यो । अर्कोतर्फ समाजमा एउटा नकारात्मक प्रभाव हेर्यो । त्यहाँ उभिएर हेरिरहेका सर्वसाधारणहरु अनेकौं टिकाटिप्पणी गरिरहेका थिए । सरकारी कर्मचारीकै बद्नामी भयो । एक महिना अघिदेखि सरकारी गाडीको प्रयोग बिहान बेलुका धेरै नै बढेको देखिन्छ ।
गाडीभित्र रातो सारी ढल्काएर तीज मनाउन निस्किएका महिलाहरु देखिन्छ । त्यो सरासर सरकारको सम्पत्तिको दुरुपयोग हो । सरकारले इन्धन दिनुपरेको छ, ड्राइभर दिनुपरेको छ । सरकारी गाडीको प्रयोग कामका लागि मात्र गरिनुपर्छ । तर, पछिल्ला दिन सरकारी गाडीको दुरुपयोग बढेको छ ।
कर्मचारीप्रति आम सर्वसाधारणको असन्तुष्टि बढ्दै छ । निजामती कर्मचारीहरु आफूलाई ‘राष्ट्र सेवक’ कर्मचारी भन्छन् । सरकारी सम्पत्तिको दुरुपयोग गर्ने, काम नगरिकन तलब खानेहरु पनि राष्ट्र सेवक कर्मचारी ? ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्या यही होला । सरकारी कर्मचारी लोकसेवा लडेर आएका हुन्छन् ।
निजामती कर्मचारीका निम्ति आचारसंहिताहरु छन् । तर, निजामती कर्मचारीले आचारसंहितालाई धोती लगाइदिएका छन् । राजनीतिक दलको झोले बन्यो अनि मनलाग्दी गर्यो । आज जनता सोध्छन्,‘जनताले तिरेको कर खोइ ? खाडीमा गएर नेपालीले घामपानी नभनिकन पठाएको रेमिट्यान्स खोइ ? झण्डै २७ खर्ब विदेशी ऋण खोइ ?’
यसको जवाफ सरकारले अब दिनुपर्छ । न कतै विकास छ न सर्वसाधारणले सेवासुविधा नै पाएका छन् । सरकारी कर्मचारी तलब बढाऊ भनिरहन्छन् । तर, तिनीहरुले काम के नै गरेका छन् । विगतदेखि नै ‘दिन कटाउने र मानो पचाउने’ काम मात्र भइरहेको छ । बढीबढी तलब चाहिने, सेवासुविधा खोज्ने अनि जनताको काम गर्न छोडेर दिँउसै कार्यालयमा नाँचगान गर्ने ?
सरकारी कर्मचारी कतिसम्म भ्रष्ट र घुसखोरी छन् ? यो त सबैलाई थाहा नै भइसक्यो । सरकारी सम्पत्ति दोहन गरेर व्यक्तिगत सम्पत्ति जोड्ने यिनीहरु नै हुन् । कार्यालयका लागि पाँच हजारको सामान किन्छन्, बिसौं हजारको बिल बनाउँछन् । नयाँ सामान ल्याउन पाएको हुँदैन्, घरतिर दौडाइहाल्छन् ।
बिहान सवा १० बजे हाजिर भइसक्नुपर्नेमा १२ बजे ढल्कीढल्की कार्यालयमा आउने, अर्काको कोठामा गएर गफ ठोकेर बस्ने अनि २ बज्नेतिर टाप कस्ने त सरकारी कर्मचारीको प्रवृत्ति नै भइहाल्यो । प्रायः सरकारी कार्यालयमा क्यान्टिन चलाउने त्यहीभित्र कार्यरत कर्मचारी रहेको पाइन्छ ।
क्यान्टिन काम गर्ने अनि तलबचाँहि महिनैपिच्छे सरकारबाट लिने । २० लिटर इन्धन खर्च भयो भने ५० लिटरको बिल बनाउँछन् । गाडी लगेर ठोक्काउने अनि मर्मत गर्ने नाममा लाखौंको बिल पेश गर्ने । पाँच दिन फिल्डमा गएर महिनौं दिनको रेकर्ड बनाउने यिनीहरु नै हुन् ।
यस्ता कामचोर, भ्रष्टाचारी, घुसखोरीहरु पनि सरकारी कर्मचारी ! यस्तालाई सरकारी कर्मचारी भन्नुपर्दा जनतालाई हीनताबोध महसुश हुने गरेको छ । हुन त देशको माथिल्लो तहका व्यक्ति नै त्यस्ता छन् । अनि कर्मचारीमा त्यो रोग सरिहाल्छ नि । प्रधानमन्त्री गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गर्छन् ।
अर्थमन्त्री विष्णु पौडेलमाथि वालुवाटारको सरकारी जग्गा आफ्नो छोराको नाममा लगेको आरोप छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप छ । उपल्लो तहकाले यस्तो निच काम गरेपछि तल्लो तहकाले सिक्नु त स्वाभाविकै हो ।
सदनमा २७५ जना सांसद छन् । तर, सांसद पनि त्यस्तै भए । आउने, हाजिर गर्ने, निदाउने, सरकारी गाडी चढेर जाने । अहिलेका सांसदको केही कामै छैन् । जनताका लागि भार मात्र हुन्, उनीहरु । समाजमा के बेतिथि देखिएको छ ? कुन क्षेत्रमा सुधार आवश्यक छ ? जनताले सेवासुविधा पाएका छन् कि छैनन् ? सांसदहरुलाई थाहा छैन् ।
बेरोजगारी बढेको छ । गाउँ हुँदै शहर, शहर हुँदै विदेशिने क्रम बढेको छ । अहिले गाउँदेखि शहरसम्म रित्तो बनिसकेको छ । सबै विदेश । नागरिकता बनाउनेबित्तिकै पासपोर्ट अनि हानियो विदेश । नेपालमा बसेर केही नै नहुने परिसक्यो, जनतालाई । हुन पनि हो । के छ यहाँ ? यहाँ योग्यता होइन्, पहुँच खोजिन्छ ।
पहुँच हुने जति पदमा, अन्य सबै खाडीमा । मँहगीले सर्वसाधारणको ढाड सेकिएको छ । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जनताको आधारभूत आवश्यकता हो । नेपालको संविधानले नै जनताको आधारभूत आवश्यकतालाई मौलिक हकमा समेटेको छ । तर, खोइ त संविधानको कार्यान्वयन ?
संविधान देखाउनका लागि मात्र हो ? जनतालाई दुई छाक खान धौं धौं परिसकेको छ । जनतामा नैराश्यता बढेको छ । विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढेको छ । तर, सरकारलाई चासो नै छैन् । प्रधानमन्त्रीलाई हावा गफ सुनाउनै भ्याइनभ्याइ छ, सरकारी कर्मचारी त तलबभत्ता खान र सेवासुविधा लिन आएको भइगए ।
सरकारले विदेशी ऋण ल्याएर भएपनि तलबभत्ता खुवाइहाल्छ, काम किन गर्नुपर्यो ? भन्ने मानसिकता सरकारी कर्मचारीमा परेको छ । त्यसको उदाहरण त हिजो देखिहालियो । जनता तनावमा छन्, सरकार र सरकारी कर्मचारी मोजमस्तीमा । करको सदुपयोग नभएकाले जनता कर नतिर्ने मनशायमा पुगिसकेका छन् ।
जनताले तिरेको कर कहाँ गयो ? हिसाबकिताब छैन् । रेमिट्यान्स पठाएका छन्, त्यसको पनि लेखाजोखा छैन् । त्यतिले नपुगेर विदेशीबाट ऋण पनि ल्याएका छन् । जनताको आँखामा छारो हालेर राजनीतिक दल र सरकारी कर्मचारीले मोजमस्ती गरे । जनताको बल्ल आँखा खुल्दै गएको छ ।
एउटा कुरा के पुष्टि भइसक्यो भने सरकारी कर्मचारीको जतिसुकै सम्पत्ति भएपनि उनीहरु घुस खान छोड्दैन् । जनप्रतिनिधिहरु पनि तलबभत्ता लिन र कमिशन खाने छोड्नेवाला छैनन् । यिनीहरु देशका लागि ‘साप’ हुन् । यस्ताबाट देशको सुधार हुँदैन् झन् अवस्था बिगिँ्रदै जान्छ ।