Breaking News

नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा आएर बजार बन्द

बिहीबार नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा आएर बजार बन्द भयो।

यसदिन पनि बजार २८०० विन्दुको प्रतिरोध परीक्षणमा देखियो। अन्तरदिनको कारोबारमा २८००.२८ विन्दु छोएको नेप्सेले यो प्रतिरोध तोड्न सकेन।

बुधबारदेखि नै नेप्सेले फेरि २८ सय विन्दुको प्रतिरोध परीक्षण गरिरहेको छ।

नेप्सेले २३ प्रतिशतको फिबोनाची रिट्रेसमा टेवा पाउन सकेन। बिहीबार २६ प्रतिशत यस्तो रिट्रेसमेन्टको तहमा नेप्से आइपुगेको छ। २३ प्रतिशत, ३८ प्रतिशत, ६१ प्रतिशत र ७८.६ प्रतिशत रिट्रेस तहलाई महत्त्वपूर्ण मानिन्छ।

२६३४ विन्दुमा नेप्से आइपुग्दा ३८ प्रतिशत रिट्रेस गरेको हुनेछ। यो विन्दु आसपास नपुग्दै बजार फर्किन भने सक्छ।
घटेको कारोबार रकमले भने लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्छ। बुधबार १३ अर्ब ७२ करोड रूपैयाँको कारोबार हुँदा बिहीबार १२ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४८ करोड रूपैयाँ कमी आएको हो।

यसदिन ३२२ वटा धितोपत्रको दुई करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ३१ रूपैयाँ ७० पैसा कायम भएको छ।

यसैगरी, रसुवागढी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४४१ रूपैयाँ ४० पैसा पुगेको छ।

यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १०७ रूपैयाँ ९० पैसामा झरेको छ।

विन नेपाल लघुवित्तको मूल्य ५.८४ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको मूल्य एक हजार ६९४ रूपैयाँ कायम भएको छ।

बिहीबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १७८ रूपैयाँमा ३७ करोड ६५ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३३५ रूपैयाँ ५० पैसामा ३६ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१० प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक २.०१ प्रतिशतले घटेको छ।