अचानक किन फेरियो त प्रधानमन्त्री ओलीको बोली ?

१८ जेठ, काठमाडौं । संसदबाट अनुमोदन नभएसम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का काम कारवाही रोक्ने निर्णय गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसीबारे अब कस्तो निर्णय गर्ला भन्ने चासो पुनः बढेको छ ।

शनिबार बसेको सचिवालय बैठकले पार्टीमा विवादीत बनेको एमसीसीका काम कारवाही संसदबाट अनुमोदन नभएसम्म स्थगित गर्न सरकारलाई निर्देशन दिएको
थियो । तर, संसदमा पुगिसकेको एमसीसी प्रकृयामा अगाडि बढ्ने भएपछि नेकपाले त्यसको पक्ष वा विपक्षमा कस्तो निर्णय गर्छ भन्ने चासोका रुपमा हेरिएको छ । त्यसका लागि नेकपाले गर्ने छलफल र निर्णयमा भर पर्नेछ ।

ओलीको बोली अचानक फेरियो

‘एमसीसीको पक्ष र विपक्षमा रहँदै आएका नेताहरु शनिबारको सचिवालय बैठकम भने लगभग एक ठाउँमा उभिन पुगेका छन् । यसले गर्दा अब बस्ने बैठकले निर्णय पनि त्यस्तै किसिमको गर्नसक्छ’, एक सचिवालय सदस्य भन्छन् ‘प्रधानमन्त्रीले नै राष्ट्रियहित विपरित कुनैपनि निर्णय गर्नुहुन्न भनेपछि कुरा बुझ्नुपर्छ ।’ यसअघि एमसीसी जसरी पनि पास गर्नुपर्छ भन्दै आएका प्रधानमन्त्री ओली र उप–प्रधानमन्त्री ईश्वर पोखरेल समेत शनिबारको छलफलमा धेरै नरम र राष्ट्रियतामा खलल पुग्ने विषयमा सम्झौता गर्न नहुने पक्षमा उभिएका थिए । ति सचिवालय सदस्यका अनुसार ओलीको बोली यसरी फेरिन्छ भन्ने नसोचेपनि उनमा आएको परिवर्तनले सहभागी अन्य सदस्यहरु नै आश्चार्यमा परेका थिए ।

उता, यसअघि एमसीसीको चर्को विरोध गदै आएका नेता भीम रावलसमेत शनिबारको छलफलपछि खुशी छन् । रावल भन्छन्, ‘शनिबारको छलफल सकारात्मक भएको छ । अब हुने नेकपाको बैठकले राष्ट्रय हित विपरित निर्णय गर्छ भन्ने मलाई लाग्दैन ।’ रावलको बोली फेरिएबाटै पनि एमसीसीको मुल सम्झौतका केही बुँदा संशोधन बिना परित हुँदैन या अघि बढ्दैन भन्ने संकेत बुझ्न सकिने नेकपाका अन्य नेताहरुले पनि बुझ्न थालेका छन् ।

धेरै विरोध भएकोे एमसीसी नेकपाले स्वीकार गर्छ या स्वीकार गर्दैन ? नेताहरुबीच छलफल कसरी भइरहेको छ भन्ने चासो बढ्नु स्वभाविक भएको नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीको भनाइ छ । ‘यसमा चासो हुनु स्वभाविक हो । नेता कार्यकर्ताले एमसीसीबारे निगरानी गरिरहनु अनौठो होइन’, ज्ञवालीको भनाई छ ।

सचिवालय लगत्तै नेपाल र गौतम खुमलटारमा

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठक लगत्तै वरिष्ठ नेता माधवकुुमार नेपाल र वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेको स्रोतले बताएको छ । चार बजेदेखि ६ बजेसम्म प्रचण्ड र नेपालबीच छलफल भएको थियो । नेपाल खुमलटारबाट निस्केलगत्तै वामदेव गौतम खुमलटार पुगेका थिए । अध्यक्ष प्रचण्डसहित नेपाल र गौतम एमसीसीका बुँदा संशोधन नगरी अनुमोदन गर्न नहुने पक्षमा रहँदै आएका छन् । शनिबारको बैठकमा त गौतमले अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले संसदबाट अनुमोदन नभइ बजेटमा एमसीसीका योजना राखेर पार्टीकै अपमान गरेको भन्दै जंगिएका थिए ।

नेकपा स्रोतका अनुसार प्रचण्ड निवास खुमलटारमा नेता नेपाल र गौतमले पार्टीको अब बस्ने बैठकमा बनाउने धराणाका बारेमा छलफल भएको बुझिएको छ । त्यसमा हाललाई एमससीसी स्वीकार वा अस्वीकार भन्दा पनि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय अवस्था हेर्दै तत्काललाई गर्ने र पछि छलफल गर्न सकिने मध्यमार्गी उपायका बारेमा समेत छलफल भएको बुझिएको छ ।

रातोपाटीबाट