बाजुरामा मरेकी २ वर्षे बालिका कोरोनाबाट मृत्यु भएको पुष्टि, आमाको पनि कोरोना रिर्पोट पोजेटिभ

१८ जेठ, धनगढी । शनिबार बिहान मात्र मेरेकी भनिएकी बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड (१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो । नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो ।

शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो ।

बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । यद्यपि बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।