र त चम्चाजस्तै देखिन्छन्

कविता

बालुवाटार आसपास
तिमी र तिम्रोजस्तै प्रतिबिम्ब भएका

चिल्ला मान्छेहरू बस्छन्
तिनीहरू
खुट्टाले हिँड्दैनन्, हातले हिँड्छन्
हातले खाँदैनन् चम्चाले खान्छन्
र त चम्चाजस्तै देखिन्छन्
चम्चाजस्तै व्यवहार गर्छन् ।

 

तिनीहरूले
काखीमा कसिलो गरी च्यापेका र
उस्तै गरी हातले अठ्याएका
फाइलहरूमा
सबभन्दा बढी महत्व दिइएको अक्षर ‘क’ हो ।

 

‘क’ माने कमिसन
कहाँबाट आउँछ ?
कसले दिन्छ ?
कति आउँछ ?
कसरी आउँछ ?
आउँछ कि आउँदैन ?
दिन्छन् कि दिदैनन् ?
‘क’ को आशय यत्ति हो ।

 

त्यसपछि
‘आ’ अक्षरले महत्व पाउँछ
‘आ’ माने–
आफ्ना लागि
आफ्नो परिवारका लागि
आफ्ना आफन्तका लागि
आफूले
आफ्नो पालामा
आफैले नगरे गरिदिन्छ कसले ?
आदि इत्यादि ।

 

मलाई हिनताबोध छ
मलाई लज्जाबोध छ
धिक्कार्न मन लाग्छ कहिले आफैलाई
मेरा पुर्खाले
मेरा बाजेबराजुले
मेरै ‘बा’ ले पनि
सिंहदरबार र बालुवाटार नजिकै बस्न
मनासिब
कुनै सत्धर्म अँगालेनन्
कुनै सत्कर्म गरेनन्
कुनै बहादुरी देखाएनन्
त्यसो नगरेपछि
कहाँ मिल्दो रहेछ टारमा
दरबार बनाएर बस्न !

 

सरकार !
म जहाँ थिएँ, त्यहीँ छु
सरकारको आलिशान महलबाट
हजारौं कोश टाढा छु
यहाँ एकाबिहानै घाम पुग्छ
एक झुल्को न्यानो ओढाएर जान्छ
घाम गएपछि साँझ पुग्छ
लैजान्छ त्यसले घामको पछ्यौरा
निर्वस्त्र मन पराउँछ ऊ ।

 

चुनाव ताकाको कुरा हो
जरुर सम्झना होला
सरकारले नजर लगाएकै हो
मेरो छाप्रोमा
पाउ बिछ्याएकै हो मेरो कटेरोमा
एक अम्खोरा पानी पनि
खुवाएकी हो क्यार भाउकी आमाले
मैले बताएको थिए सप्पै समस्या त्यो बेला
सरकार मुसुक्क हाँसेको
आँखामा झझल्को छ अझै ।

 

बाटो थाकिसक्यो
आँखा टट्टाइसके
खिया लागिसक्यो नजरको रोशनीमा
आजसम्म
कतै देखिएन र कतै झुल्किएन
मेरो आस्थाको जून ।

 

भूकम्पले भत्किएको स्कुल उस्तै छ
बाढीले बगाएको पुल उस्तै छ
पहिरोले पुरेको बस्ती उस्तै छ
खहरेले खण्डहर बनाएको बगर उस्तै छ
सुत्केरी हुन नसकेकी लालशोभा चेपाङ
प्यारालाइसिसले थलिएको काबरिया मुसहर
बाथले बेहोस बनेका मन्जिते जेठा बा
किड्नी फेल भएका दयाराम पल्लाघरे
मुटु भ्वाङ परेका राइटर बाजे
घाँस काट्दा लडेर अपाङ्ग बनेकी
राइझुमा मुखेनी
सरकार ! म यिनीहरूसँगै छु
यिनै हुन् छिमेकी मेरा ।

 

आशा मरेको छैन
सकिन्छ भने आऊ सरकार
एक मिटर तुल छ, स्वागतम लेख्छु
केराको एक थाम छ, गेट तयार गर्छु
गुराँस टिपेर माला गाँस्छु
बाटोभरी ओछ्याउँछु शिरीषका फूल
एक जोर हुड्केली बोलाउँछु
एक दर्जन दमाहा नचाउँछु
हो, म भव्य स्वागत गर्छु ।

 

तिमी आउँदा
मतपत्रको अधकट्टी पनि
साथमै लिएर आउनु
त्यसमा बूढीऔँलाको ल्याप्चे सहीछाप छ मेरो
त्यो ल्याप्चे सहीछापसँगै
पहिला सपना जलाउनु छ मैले
अनि जल्नु छ आफैं
निरुत्तर भएर ।