संविधानको दोस्रो संशोधन विधेयक संसदमा पेश

१८ जेठ, काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले अहिले शुरु भएको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची–३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।

१४ जेठको संसद बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने उल्लेख थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्छौं भनेपछि १४ जेठको अन्तिम कार्यसूचीबाट संविधान संशोधनको कार्यसूची झिकिएको थियो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले यस विषयमा औपचारिक बोलेका छैनन् । अनौपचारिक रुपमा भने दुवै दलले नक्सा सम्बन्धी विषयमा संविधान संशोधन गर्ने विषयमा आफूहरुको विरोध नहुने बताएका छन् ।

राजपाले आफूहरुका मागलाई समेटेर छुट्टै संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्न खोजेको छ ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो ।