लकडाउनले फेरिएको माइनडांडाको सडक खण्ड

१७ जेठ, बेनी । लकडाउनका बीचमा जलजला गाउँपालिकाको वारीबेनी देखी मल्लाज हुदै लेकफाँट जोड्ने सडक खण्ड माइनडाडा क्षेत्रमा सडक ढलान सम्पन्न
भएको ।

कोरोना भाइरसको त्रास र लकडाउनले गर्दा विकास आयोजना प्रभावित हुनुका साथै बन्द समेत भइरहेको बेला जलजला गाउपालिकाद्धारा सञ्चालित वारीबेनी देखि लेकफाँटसम्मको सडक खण्ड आयोजनालाई निर्माण व्यवसायीले, स्थानीय मजदुर र उपकरण परिचालन गरेर लक्ष्य अघिनै काम सकिएको छ ।

लकडाउन चैत्र ११ गतेदेखि जारी भएपनि सो सडकखण्ड बैशाख पहिलो हप्तादेखि सुरु गरेर कटिङ, ग्रेड मिलाउने र ढलान गर्ने काम जेठ १३ गते मंगलबारका दिन सकिएको छ । डोजर परिचालन गरेर ५०० मिटर सडक कटिङ र फिलिङ गरिएको हो । ५०० मध्य १३२ मिटर लम्बाई, ६ देखि ७ मिटर चौडाई भएको भिरालो सडकलाई डेढ मिटरका दरले गहिराएर ग्रेड मिलाइएको थियो

१३२ मिटर उकालो सडकमा रड राखेर ढलान गरिएको छ । ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यो सडक आयोजना निर्माण सोमरस निर्माण सेवाका प्रतिनिधि रामबहादुर केसीले ४२ लाख रुपैयाँमा ठेक्का लिनुभएको थियो ।

लकडाउनका बाबजुद स्थानीय मजदुर परिचालन गरेर आयोजनालाई निर्धारित लक्ष्य भन्दा अघिनै सकेको निर्माण प्रतिनिधि केसीले बताए । सो सडक खण्डको ढलानलाई बलियो रस टिकाउ हुनका केही दिन गाडी चल्न नदिने समेत उनले बताए ।

माइनडाडामा सडक ढलान गरेपछि बेनी मल्लाज सडकमा बस सञ्चालन गर्ने जलजला गाउंपालिकाको योजना छ । माइनडाडा क्षेत्रको बक्स कटिङ गरिएको खोचभित्रको उकालो ग्रेड नमिलेको सडक जोखिमयुक्त हुँदै आइरहेको थियो ।

माइनडाडाको सडक सुधार गर्न संघीय सांसद पदम गिरिले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत पचास लाख रुपैयाँ बिनियोजन गरेका थिए । गत वर्ष पनि सांसद गिरीको सिफारिसमा बिनियोजित पचास लाख रुपैयाँ बजेटबाट डेढ मिटर गहिराउनुका साथै घुम्तीमा पक्कि पर्खाल र नाली निर्माण गरिएको थियो ।

त्यस बेला एक सय मिटर भन्दा बढी सडक ढलान समेत गरिएको थियो । गत वर्षनै जलजला गाउपालिकाले थप बीस लाख खर्चेर सुधारको काम गर्यो । ठाडो उकालो र चट्टानी पहाड भएको माइनडाँडाको भिरमा छ वर्षअघि ट्याक खोलिएको हो ।

सडकमा ग्रेड नमिलेका कारण जिप, ट्याक्टर र मोटरसाइकल बाहेक ठूला सवारी साधन आवत जावत गर्न सकेका थिएनन् । पर्वत बेनीदेखि मल्लाज, लेकफाँट, शालीजा तथा म्याग्दीको राम्चे, नांगी जाने आउने सर्वसाधारणलाई आवत जावतमा सहज हुने जलजला गाउँपालिका जनप्रतिनिधि र सर्वसाधारणको भनाइरहेको छ । सुधारयुक्त सडकले जनमानसमा मात्र सजिलो नभएर व्यापार, व्यवसाय र अन्य निर्माण तथा विकासका सरसामान ढुवानी र ओसारपोसारमा छिटो र सहजता आउने बताइएको छ ।