Breaking News

युरो २०२४ मा स्विट्जरल्याण्ड र स्कटल्याण्डले एक/एक को बराबरी

६ असार, काठमाडौं । जर्मनीमा भइरहेको युरो २०२४ मा स्विट्जरल्याण्ड र स्कटल्याण्डले एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् ।

कोलोनमा भएको खेलमा स्कटल्याण्डले पहिले अग्रता लिए पनि जोगाउन सकेन । स्कट म्याकटोमिनेले खेलको १३औं मिनेटमा गोल गर्दै स्कटल्याण्डलाई पहिले अग्रता दिलाएका थिए । तर, लामो समय त्यो अग्रता टिकेन । २६औं मिनेटमा जेर्दान शाकिरीले स्विट्जरल्याण्डका लागि बराबरी गोल फर्काए ।

त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो । बराबरीपछि समूह ए मा दुवै टोलीले एक-एक अंक जोडेका छन् ।

बराबरीपछि स्विट्जरल्याण्डको दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । लगातार दुई खेल जित्दै ६ अंक जोडेको जर्मनी अन्तिम १६ मा छनोट भइसकेको छ ।

यस्तै स्कटल्याण्डले दुई खेलबाट १ अंक जोडेको छ । यस बराबरीपछि स्कटल्याण्डले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ ।

जारी युरोमा ६ समूहका शीर्ष दुई टोली सिधै नकआउट चरणमा प्रवेश गर्नेछन् भने तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि नकआउट चरणमा पुग्नेछन् ।