आमा ! सिम्फोनी धून

चिर्पटले हिर्काए पनि
सिर्कनाले पिटे पनि
रातै हुने गरि कान निमोठे पनि
अहँ ! दुख्दैन आमाको चोट ।
सत्तोसराप गरे पनि
धारे हात लगाए पनि
घरीघरी फतफताए पनि
अहँ ! बिझाउँदैन आमाको गाली ।
आमाले हप्काउँने भनेको त
मति नबिगृयोस् भनेर हो
गति नरोकियोस् भनेर हो
पूर्खाको इतिहास र
पिताको इज्जतमा दाग नलागोस् भनेर हो
नत्र, किन ! रिसाउँथिन् आमा ।
आमा सृष्टि हुन्
सृष्टि,कहिल्यै चिताउँदैन कसैको कुभलो ।
पहाड छिचोल्दै निस्किएको
चिसो पानीको मुल हुन् आमा
ढुंगा फोरेर उम्रीएको
हरियो पिपलको रुख हुन् आमा
अँध्यारो चिरेर उदाएको
नीलो आकाशको जून हुन् आमा
आफू निखृदै निखृदै अरुलाई उज्यालो दिने
पुरानो घरको दियालो हुन् आमा ।
कलिला ति नानीहरुका
कलेटी परेका ओठहरुमा “हाँसो”बनेर
भोकले चाउरिएका पेटहरुमा “फाँकाे”बनेर
ठिहीले कक्रक्क परेका शरीरहरुमा “न्यानो”बनेर
छिनछिनमा झुल्किरहने पनि
आमा नै हुन् ।
मैले आमालाई
भान्सामा/ जुठेल्नामा
बारीमा / खेतमा
मेलामा /जंगलमा
गोठमा /खर्कमा
पधेरिमा/ मझेरिमा
लेकमा / बेसिमा
मात्र देखेको छैन
हरेक मन्दिरको पहेंलो गजुरमा
आमाको आकृति सल्बलाएको देखेको छु
हिमालको शीर छोपेर सेतो पछ्यौरीले
देशको स्वाभिमान बचाएको देखेको छु
पहाडको टुप्पा, टुप्पामा
ढकमक्क फुलाएर लालीगुराँस
देशको पहिचान जीवन्त राखेको देखेको छु
पाउजु र चुराको तालमा छमछमी नाचेर
देशको संस्कृती जोगाएको देखेको छु
नदी बनेर अपनत्वको
दुबै किनारालाई आलिङगन गर्दै
उत्फुल्ल बगिरहेकि  देखेको छु ।
आमाको मुर्त आक्रोश र
अमुर्त प्रेमको गर्भाशयबाट
बुद्ध जन्मिन सक्छन् ?
जिसस जन्मिन सक्छन् ?
पैगम्बर जन्मिन सक्छन् ?
जन्मिन सक्छन् मार्क्स ?
जन्मिन सक्छन् गान्धी ?
जन्मिन सक्छन् बीपी ?
अँझ त्योभन्दा पनि अग्लो
जन्मिन सक्छ एउटा
संगीतको मिठो सिम्फोनी धून ।