प्रचण्ड र ओलीबीच ‘वाकयुद्ध’ सुरू

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेको प्रसंगलाई वाम गठबन्धनको जलप लगाइए पनि अहिले त्यो गठबन्धन एमाले अध्यक्ष केपी शर्मा ओलीको शब्दमा समीकरणमा परिणत भएको छ ।

उपनिर्वाचनकै क्रममा एमालेले इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाएसँगै वाम गठबन्धनको औचित्य समाप्त भएर समीकरणमा बदलिएको छ । यसले यो सरकार वाम गठबन्धन नभई अस्थायी रूपको समीकरण मात्रै भएको पुष्टि गरेको छ ।

एमालेसँग सहकार्य गर्दा माओवादीले के सहमति गरेको थियो भन्ने ‘एजेण्डा’ बाहिर नआए पनि इलाम र बझाङमा एमालेले उम्मेदवार उठाएर गल्ती मात्र गरेको छैन । उक्त क्षेत्रबाट एमाले चुनाव हारेको खण्डमा त्यसको दोष प्रचण्ड र माधवकुमार नेपालमाथि थोपरेर समीकरण भत्काउन सक्छ ।

खासगरी एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारको पार्टी भएको देखाउन चाहन्छ । एमालेले लिएको नीति विचार सिद्धान्तकै बाटोमा मुलुकको राजनीति हिँडेको देखाउन चाहन्छ । नेपालको राजनीतिक भविष्य राम्रो संकेत छैन, अहिलेको अवस्थाले राजनीतिलाई ठिक दिशामा लगेको छैन भन्ने जान्दा जान्दै एमालेले वाम गठबन्धनको आधार तय भएको अहिलेको सत्ता गठबन्धनलाई समीकरणमा परिणत गरेर आफैँलाई कमजोर साबित गरेको छ ।

राजनीतिक अस्थिरता बढिरहेको छ, संघीयताप्रति वितृष्ण सिर्जना भएको छ । यो असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई पनि एमालेले सम्बोधन गर्न चाहेको देखिँदैन । एमाले वाम ध्रुवीकरणको माध्यमबाट बलियो पार्टी बनाउन चाहेको छ । नेकपा एस र माओवादीमा रहेका असन्तुष्ट र निष्क्रिय रहेका नेताहरूलाई एमालेमा भित्र्याउने एमालेको दाउ हो ।

यसले गर्दा समाजवादी मोर्चालाई समेत एमालेले अस्वीकार गर्दै आएको छ । समाजवादी मोर्चामा नेकपा एमालेलाई सामेल गराउने प्रयास थालिएको थियो । नयाँ सत्ता समीकरण बनेपछि समाजवादी मोर्चाका संयोजक तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमालेलाई पनि सहभागी गराउने प्रयास थालेका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमालेलाई समाजवादी मोर्चामा ल्याउन विप्लवलाई आग्रह गरेका थिए । तर, उनको त्यो प्रयासमा एमालेले अस्वीकार गरिदियो । मोर्चाको संयोजक चयन भएदेखि नै सक्रिय विप्लवले एमाले अध्यक्ष ओलीलाई एक महिनाअघि बालकोट पुगेर भेटेका थिए ।

समाजवादी मोर्चाले एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउने विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिइएको थियो । तर त्यसमा कुनै प्रगति भएको छैन ।

एमाले भने अहिले समाजवादी मोर्चामा जान इच्छुक छैन । अहिले मोर्चामा गइहाल्ने त होइन । मोर्चा बनाउने तर त्यो मोर्चाको लक्ष्य, उद्देश्य के हो ? के काम गर्ने ? प्रस्ट योजना हुनुपर्याे । मिल्नेको नाममा पदको लागि मिल्ने होइन । कुनै पनि संगठन र संस्था बनाउँदा त्यसले के काम गर्दा भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जनता र देशको हितको लागि के काम गर्छ ? भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ । बसेर वार्ता नगरी मिलिहाल्ने कुरा हुँदैन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन् ।

सरकारमा सहकार्य सुरु भएकाले कम्युनिष्ट घटक अलगअलग भएर बस्न नहुने उनको धारणा भएपनि समाजवादी मोर्चामा गइहाल्ने अवस्था नबनेको उनको भनाई थियो । एमालेभित्र समाजवादी मोर्चाको विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । सामान्यतया यस्ता मोर्चा एमाले सामेल हुँदैन । एमालेलाई अहिले मोर्चा आवश्यक छैन । जो–जो अहिले आबद्ध हुनुहुन्छ उहाँहरूले राम्रोसँग चलाए भइहाल्छ भन्ने खालका जवाफहरू एमाले नेताहरूले दिइरहेका छन् ।

०७४ को निर्वाचनमा संसदमा करिब दुईतिहाइ सांसद भएको तत्कालीन नेकपाले सरकार चलाउन नसक्नु वाम गठबन्धन त्यहीबाट असफल भएको थियो । त्यो बेला जुन अवसर वामपन्थी नेतृत्वले पाएको थियो, त्यो विरलै प्राप्त हुन् अवसर थियो तत्कालीन प्रधानमन्त्री ओलीले नेताहरू वामदेव गौतम, माधवकुमार नेपाल र प्रचण्डलाई साथमा लिन सकेनन् । तर पनि जनमत नेकपाको पक्षमा थियो । सांसदहरू नेकपाकै पक्षमा थिए । तर पनि ओलीकै कारण नेकपा भङ्ग भयो ।

गत मंसिरमा भएको आमचुनावमा एमाले एक्लै होमिएको थियो, नेकपा तीन टुक्रामा विभाजित भएर माधव नेपाल, प्रचण्ड गएपछि एमालेले कसैसँग गठबन्धन गर्नुहुँदैनथ्यो । तर एमालेले राप्रपासँग सहकार्य गरेर वामपन्थीहरूलाई बेवास्ता ग¥यो । नेपाली कांग्रेसका शेरबहादुर देउवा माधव नेपालको समाजवादी, प्रचण्डको माओवादी र उपेन्द्र यादवको जनता समाजवादीसँग गठबन्धन गर्न पुगे ।

यसले एमालेलाई झन् घाटा भयो, संसदमा दोस्रो ठूलो दल, प्रदेशमा कहीँ पनि बहुमत आएन तर पनि एमालेले पाठ सिकेको पाइएन । अहिले फेरि कांग्रेससँगको गठबन्धन तोडेर माओवादीसँग समीकरण गर्न ओली सफल त भएका छन्, तर त्यो सफलता धेरै दिन टिक्ने छाँट छैन ।

इलाम र बझाङको निर्वाचन परिणामपछि सत्ता गठबन्धनमा खटपट सुरु हुनेछ । त्यसपछि एमाले र कांग्रेस अर्को गठबन्धन सरकार बन्ने कुरालाई नकार्न सकिँदैन । मिसन ८४ मा लागेको एमालेले अहिले राष्ट्रिय परिषद् सदस्यहरूको बैठक बोलाइएको छ, आन्तरिक रुपमा आउँदो महाधिवेशनसम्म दश लाख संगठित सदस्य बनाउने भनेर एमाले लागिरहेको छ । उता वाम गठबन्धन बनाउनेभन्दा आफू एक्लै दौडने गरी रथ तयार गर्दै छ ।

सरकारमा सहभागी भएपनि एमालेले सहयात्री दल मध्ये माओवादीलाई मात्र सरकार सञ्चालन गर्न छाडेको देखाउँदै देशभर जिल्ला अधिवेशन गर्न लागिरहेको छ । माओवादीका अध्यक्षलाई प्रधानमन्त्री छाडेपछि एमाले अध्यक्ष मिसन ८४लाई निरन्तरता दिँदै उनी देशव्यापी संगठन विस्तारमा लागेछन् ।

माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनको अभिव्यक्ति दिन्छन् । उता ओलीले गठबन्धन नभई समीकरण मात्रै भएको बताउँदै आएका छन् । जसले गर्दा एमालेहरू गठबन्धन होइन भन्नेमा ढुक्क छन् भने माओवादीहरू भने भित्रभित्रै ओलीको षड्यन्त्रमा फसियो कि भन्ने चिन्तामा छन् । कांग्रेससँगको गठबन्धन भत्काएर ओलीले प्रचण्डसँग बदला लिनु थियो, त्यसमा ओली सफल भएका छन् । अब प्रचण्ड कसरी अगाडि बढ्छन्, त्यसैमा सरकारको आयु निर्भर गर्छ ।

दृष्टिबाट