बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाए

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । केन्द्रमा सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि आज सोमबार प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये जम्कट्टेलको पक्षमा ५६ मत पर्यो भने विपक्षमा जम्मा ३७ मत पर्यो । यस्तै १५ सांसद तटस्थ बसे । जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो । यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे ।

आजको प्रदेशसभा बैठकमा जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (४) एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सो प्रस्तावलाई सभामुख भुवन पाठकले मत विभाजनपछि निर्णयार्थ प्रस्तुत गर्दा ५६ सांसदले मतको मत पाएका हुन् ।

११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन आवश्यक कुल ५६ सांसदको विश्वासको मत पाउनु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार जम्कट्टेलको पक्षमा नेकपा माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुख सहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ सांसदले मत दिएका हुन् । राप्रपाका १३ सांसद र नेमकीपाका ३ सांसदले तथस्ट बसे । यस्तै कांग्रेसका ३७ सांसदले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत प्रदान गरे ।