Breaking News

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् ।

म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा कमला बानियाँ थापा, सहसचिवमा खुमबहादुर किसान र कोषाध्यक्षमा भीमबहादुर रिजाल निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले कार्यसमिति सदस्यहरुमा गौरी थापा, शर्मिला पुन, नम्रता पौडेल खत्री, मुक्तमान केसी, विष्णु गुरुङ र भीमबहादुर गुरुङ निर्वाचित भएको महासंघ म्याग्दी शाखाले जनाएको छ ।

नवनिर्वाचित गैसस महासंघ जिल्ला शाखाको पदाधिकारी तथा सदस्यहरुलाई गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेलले शपथग्रहण गराएका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, सचिव भवराज रेग्मी र गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै जिल्लामा गैरसरकारी संघसंस्थालाई सक्रिय बनाउन र समुदायमा सचेतनामूलक गतिविधिहरु सञ्चालनमा जोड गर्न सुझाव र निर्देशन दिएका छन् ।

गैरसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान सचिव निरमाया मिजारले सञ्चालन गरेको कार्यक्रममा गैसस महासंघ म्याग्दीका पूर्व अध्यक्ष हरिप्रसाद पौडेल, मंगला आमा समूहका अध्यक्ष टकसरा राना लगायतको विशेष उपस्थिति रहेको थियो । यसअघि अधिवेशनको गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष सुवेदीले उद्घाटन गरेका थिए ।