Breaking News

मन्त्री भण्डारीद्वारा नीजि क्षेत्रसँग छलफल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीजि क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रीत छलफल गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले आगामी वैशाख १५ र १६ गते सरकारले आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्तालाई सहज वातावरण निर्माण हुने कानुन बनाउने विषयमा कुराकानी गर्नुभएको हो ।

विभिन्न चरणमा नीजि क्षेत्रबाट सरकारले कानुन निर्माणका विषयमा सुझाव लिइसकेको छ । नीजि क्षेत्रले तयारी अवस्थामा रहेका १० ऐन र दुई विनियमावलीलाई अब संशोधन नगरी जस्ताको त्यस्तै संसद्मा पेश गर्न सुझाव दिएको महासङ्का महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिनुभयो ।

लगानीकर्तालाई सहज बनाउन नीजि क्षेत्रले दिएको सुझावलाई सकारात्मक रुपमा लिई उद्योग मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो । सो छलफलमा महासङ्का अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल र जोत्सना श्रेष्ठ तथा परिसङ्घका अध्यक्ष राजेश अग्रवाल र उपाध्यक्ष विरेन्द्र पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।