Breaking News

राष्ट्रपति पौडेलबाट स्वयम्भू महाचैत्यको पूजा सम्पन्न 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र-गजुरको प्राण प्रतिष्ठा गर्नुभएको छ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गर्नु भएको हो। सो अवसरमा राष्ट्रिपति पौडेललाई महासमितिका पदाधिकारी र कर्मचारीले स्वागत गर्नुभएको थियो।
विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्य क्षति पुगेको थियो। काठमाडौँ–१५ मा पर्ने उक्त स्थल विश्व सम्पदा सूचिमा सूचिकृत छ । करिब ५० लाखको लागतमा त्यसको जीर्णोद्वार सम्पन्न गरिएको हो । पुरातत्त्व विभाग,  र काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब १०६ मिटर अग्लो छ ।
अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थविरले त्यसक्षेत्रको संरक्षणमा गरेका गतिविधिबारे जानकारी गराउनुभयो।
सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्य लगायतलाई सम्मान गर्नुभएको थियो।
विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायान लगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको  महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिनुभयो। यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केहि वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो।

संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास रहेको महासमितिका इन्जिनियर राजेश सुवालले जानकारी दिनुभयो। विश्व शान्ति तथा मानव कल्याणको उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुने गरेको बताइएको छ।