६ वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही

६ वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको छ।

नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

नारायणी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक वर्ष २०८०/८१ मा यो समेत तेस्रो पटक कारबाही गरेको हो।

यस बैंकले अनिवार्य नगद मौज्दात कायम नराखेको, कर्जा निक्षेप अनुपात तोकिएको ९० प्रतिशतभन्दा बढी भएको कारण कारबाही गरिएको हो।

बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको कारण २ लाख ४१ हजार जरिवाना समेत लगाइएको छ। अनिवार्य नगद मौज्दात नराखेको आधारमा १२ हजार ८ सय रूपैयाँ जरिवाना लगाइएको छ।

ग्राहक संरक्षण कोषको रकम अन्य क्षेत्रमा खर्च गरेको भन्दै मुक्तिनाथ विकास बैंक सञ्चालक समिति, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले कोर प्रणालीमै गएर आधार दर गणना नियम अनुसार नगरेको भन्दै सचेत गरिएको हो।

महर्जन विजनेश एसोसिएसनलाई प्रोग्रेसिभ फाइनान्सले चलनचल्ती प्रक्रिया विपरीत धितो मूल्यांकन गरेर कर्जा दिइएको भन्दै कारबाही गरिएको हो। फाइनान्सका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई नसिहत दिएको हो।

महर्जन विजनेश एसोसिएसनलाई नै गुडविल फाइनान्सले पनि सदुपयोगिताको सुनिश्चितता नगरी कर्जा दिएको भन्दै प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई नसिहत दिएको हो।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सीमाभन्दा बढी सेयर बिक्री गरेको भन्दै सचेत गराइएको हो।