‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै रक्सी पिउनेलाई अर्ती–उपदेशले त्यति काम नगर्ला । यद्यपि रक्सी पिउनै परेपनि त्यसको मात्रा मिलाउनु उत्तम हुनसक्छ ।
के भनिन्छ भने महिलाले एक हप्तामा १४ युनिट र पुरुषले १६ युनिटसम्म पिउँदा हानि हुँदैन । यो स्वस्थ महिला वा पुरुषको हकमा हो । यदि रोगी, औषधि खाइरहेका व्यक्ति छन् भने उनीहरुमा रक्सीको यो मात्रा लागू हुँदैन ।
धेरैले भनिरहेका हुन्छन्- ‘कहिलेकाहीं पिउँदा त असर गर्दैन होला । म त हार्ड ड्रिंक गर्दिन, वाइन र बियर मात्र पिउँछु त्यसैले खास असर नगर्ला ।’ र, हाम्रो प्रवृत्ति के छ भने रक्सी पिउँदा पूरा मात्नुपर्ने, बेहोसै हुनुपर्ने, बान्ता नै गर्नुपर्ने । यसरी खाँदा जो कोहीलाई हानि गर्छ ।
बेलाबखत पिउनुहोस् वा नियमित, अत्यधिक पिउनु शरीरका लागि उत्तिकै हानिकारक छ । यस्तै ह्विस्की पिउनुहोस् वा वियर या त वाइन नै । सबै मदिरा नै हुन्, हानि नगर्ने भन्ने हुन्न ।
मेडिकल विज्ञानका अनुसार दिनमा ६० ग्रामभन्दा बढी रक्सी पिउने र लगातार १० वर्षसम्म रक्सी पिइरहेका मान्छेको कलेजो खराब हुने जोखिम उच्च हुन्छ । त्यसैले उनीहरुले केही स्वास्थ्य परीक्षण आवश्य गर्नुपर्छ ।
१. लिभर फंक्शन टेस्ट (एलएफटी) अर्थात् कलेजोको कार्य परीक्षण
२. अल्ट्रासाउण्ड (भिडियो एक्सरे)
३. फाइब्रो स्क्यान परीक्षण
एलएफटी अर्थात् कलेजोको कार्य परीक्षण
कलेजो कार्य परीक्षण (एलएफटी) कस्तो छ भनी रगतबाट जाँच गरिन्छ । यसमा प्रोटिन, एल्बुमिन, ग्लोबुलिन बिलिरुबिन, एएसटी (एसजीओटी) र एएलटी (एसजीपिटी), अल्कालाइन फोस्फेटेजको परीक्षण गरिन्छ । यसैगरी गामा ग्लुटामिल ट्रान्सपेप्टिडेज (जीजीटी) र लैक्टेट डिहाड्रोजिनेज (एलडीएच) जाँच गरिन्छ ।
एलानिन ट्रान्समिनेज (एएलटी) परीक्षणमा प्रोटिनको स्तर मापन गरिन्छ । शरीरमा एएलटीको स्तर नर्मल छ भने कलेजो ठीक छ भन्ने बुझिन्छ । यदि एएलटीको स्तर उच्च भएमा कलेजो केही खराबी वा क्षति भएको बुझिन्छ ।
अल्बुमिन परीक्षण
यो परीक्षणले शरीरमा अल्बुमिनको स्तर मापन गरेर कलेजोको कार्यप्रणाली निर्धारण गर्न मद्दत गर्छ । अल्बुमिन कलेजोद्वारा निर्मित मुख्य प्रोटिन हो । अल्बुमिनको कम स्तरले कलेजोले राम्रोसँग काम गरिरहेको छैन भन्ने संकेत गर्छ । त्यस्तै अधिक रक्सी गर्ने व्यक्तिमा एसजीओटी, बिलिरुबिन र गामा ग्लुटामिल ट्रान्सपेप्टिडेज रगतमा बढ्छ ।
बिलिरुबिन परीक्षण
शरीरमा बिलिरुबिनको उच्च स्तरको उपस्थिति भनेको कलेजोले राम्रोसँग काम गरिरहेको छैन । जन्डिस बढेमा बिलिरुबिन स्तर बढ्छ ।
अल्ट्रासाउण्ड (भिडियो एक्सरे)
धेरै मदिरापान गर्नेले भिडियो एक्सरे गर्नुपर्छ । यसबाट फ्याटी लिभर, अल्कोहोलिक हेपाटाइटिस, लिभर सिरोसिस र कलेजोमा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सकिन्छ ।
पहिलो चरणमा फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जमेको छ कि छैन भन्ने भिडियो एक्सरेबाट थाहा हुन्छ । फ्याटी लिभरको समस्या देखिएमा चिकित्सकलाई जाँच गराई उपचार गरिहाल्नुपर्छ । र, पूर्ण रुपमा निको पार्न सकिन्छ ।
दोस्रो, अल्कोहोलिक हेपाटाइटिस अर्थात् कलेजो सुन्निने समस्या छ कि छैन पत्ता लगाउन सकिन्छ । यसको पनि समयमा उपचार भएमा कलेजो नर्मल रुपमा फर्किन सक्छ ।
तेस्रो, लिभर सिरोसिस अर्थात् कलेजोको बनावट पूर्ण रुपमा बिग्रिएको अवस्था । भिडियो एक्सरेबाट लिभरको कति क्षति भइसकेको छ थाहा पाइन्छ । तर लिभर सिरोसिस भएमा कलेजोलाई पूर्ण रुपमा निको पार्न सकिंदैन । यस्तो अवस्थामा क्यान्सरको जोखिम बढी हुन्छ ।
चौथो कलेजोको क्यान्सर भएको हो कि होइन पत्ता लगाउन सकिन्छ ।
फाइब्रो स्क्यान परीक्षण
फ्याटी लिभर देखिएमा फाइब्रो स्क्यान परिक्षण गर्न सकिन्छ । यसबाट कलेजोमा बोसो कति फैलिएको छ र कलेजो गिलो छ कि साह्रो छ भनेर थाहा पाउन सकिन्छ ।
यसबाहेक शरीरमा भिटामिनको कमी भएर स्नायु कमजोर हुने, रगतमा सुगरको कमी हुने र हड्डी कमजोर हुने हुन्छ ।
तर यसो भन्दैमा मदिरा पिउनुपर्छ भन्ने होइन । किनभने हाम्रो समाजमा मदिरा नापेर पिउने बानी कसैले छैन र पिउन थालेपछि झ्याप नभएसम्म पिउँछन् ।