काउली खाने तरिका र फाइदाहरु

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् ।

यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ ।

अध्ययन अनुसार काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ । जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो। एक अध्ययनले त हप्तामा धेरै काउलीको खपत गर्ने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।

खाने विधि
काउलीलाई सुरुमा राम्रसँग पाखाल्नुपर्छ । दुई घण्टाजति सफा पानीमा डुबाउने र त्यसपछि मात्र खानका लागि तयार गर्न सकिन्छ ।

अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’

यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ । काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ ।

चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ । यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।

अन्य फाइदा
काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ । काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ । (एजेन्सीको सहयोगमा)