गाईघाटको सडकमा विश्व बैंकको सय करोड, कालोपत्रेको लागि ठेक्का खुल्यो

उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेलागि ठेक्का प्रक्रिया शुरु भएको हो ।

नगरको महत्त्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब बढी रुपैयाँमा सडक निर्माण हुने लागेको त्रियुगा नगर पालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताए । सात प्रदेशका ३३ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय बमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

उक्त परियोजना अन्तर्गत त्रियुगा नगरपालिका छनोटमा परि गाईघाट बजारका सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) ऋण उपलब्ध गराएको नगर प्रमुख बस्नेतले जानकारी दिए। नगर प्रमुख बस्नेतका अनुसार गाईघाट टावन प्लानिङ्गका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक – फुलचोक – बोटेटोल – त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगती टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषी बजार पश्चिम बाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक गरि १४ दशमलब ५० किलोमिटर सडक निर्माण हुने छ ।

विश्वबैंकको लगानीमा अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने सडक डवल लेनको हुने, स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध हुने नगर प्रमुख बसन्त बस्नेतले जानाकरी दिए । नगरभित्रका दुई राजमार्ग (मदन भण्डारी र सगरमाथा) लाई जोड्दै बजार एरिया महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्नेगरि सडकहरुको छनोट गरिएको उनले बताए ।

संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिनेछ । विश्व बैंकसँगको सम्झौतामा ती सवै सडक ०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।