काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन आग्रह गरेका छन् । साथै, उनले भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गरिदिनसमेत आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नामको शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग शुक्रबार भएको भेटघाटमा मन्त्री साउदले रुससँग यस्तो आग्रह गरेका हुन् ।
‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ ।’ परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरे ।
परराष्ट्रमन्त्री साउदले भने, ‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन् । आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो । त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं ।’ उनले रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिँदै यसका लागि प्रक्रिया अघि बढाउन अनुरोध गर्ने बताए ।
जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषय सम्बोधनका लागि पहल गर्ने बताएका थिए । नाम शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।